सार्क राष्ट्रहरुको आर्थिक तथा वित्तीय क्षेत्र समेटेको न्यूजलेटर विमोचन

0
Shares

नेपाल राष्ट्र बैंकले सार्क फाइनान्स इ–न्यूजलेटर प्रकासित गरेको छ । उक्त न्यूनजलेटरको बिमोचन सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधकिारीले गरेका छन्।

सार्क फाइनान्सको अध्यक्षको हैसियतमा बैंकले राष्ट्र बैंकले उक्त न्यूजलेटर प्रकाशन गरेको हो । उक्त प्रकाशनमा गभर्नर अधिकारीको सम्बोधन सँगै ४१ औं र ४२ औं ‘सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङ’ ले अगाडि सारेका नीतिगत प्रयास र त्यसको कार्यान्वयन अवस्थालाई उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सार्क फाइनान्सको साङ्गठनिक कार्यदिशा तथा सार्क फाइनान्स तथ्याङकीय पद्धति, प्राविधिक सहायता, तालिम कार्यक्रम, वित्तीय समावेशीकरण, अध्ययन/अनुसन्धान लगायतका पारस्परिक सहायताका क्षेत्र र सार्क पेमेन्ट काउन्सिलको प्रगति प्रतिवेदनलाई समेत समेटिएको राष्ट्र बैंकले जनाएको छ ।

साथै, सार्क क्षेत्रमा कोभिड–१९ ले पारेको असर र यसलाई सम्बोधन गर्न अवलम्बन गरिएका नीतिगत प्रयास, सार्क सदस्य राष्ट्रका समष्टिगत आर्थिक निगरानी सूचक र आँकडासँगै समसामयिक आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित आलेखलाई समेत न्यूजलेटरमा समेटिएको छ । गभर्नर अधिकारीले विमोचित इ न्यूजलेटर सार्क राष्ट्रका आर्थिक तथा वित्तीय क्षेत्रको अवस्था, नीतिगत अभ्यास र पारस्परिक साझा विषयलाई समेटेको उल्लेख गरेका थिए ।

२०७८ कात्तिक २९ गते सम्पन्न ४२ औ सार्क फाइनान्स गभर्नर ग्रुप मिटिङले २०२२ अक्टोबरसम्मको निम्ति नेपाल राष्ट्र बैंकलाई ‘सार्क फाइनान्स’ को अध्यक्ष चयन गरेको थियो । विगतमा अर्धवार्षिक रूपमा सार्कफाइनान्स इ न्यूजलेटर प्रकाशन हुँदै आएकोमा गत वर्षदेखि वार्षिक रूपमा प्रकाशन थालिएको केन्द्रीय बैंकले जनाएको छ ।

‘सार्क फाइनान्स’ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा आबद्ध मुलुकका केन्द्रीय बैंकहरूको सञ्जाल हो । सार्क राष्ट्रहरूबीच समष्टिगत आर्थिक नीतिको विषयमा खुला छलफल र पारस्परिक सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा ‘सार्क फाइनान्स’को स्थापना भएको थियो । सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न ‘एघारौँ सार्क शिखर सम्मेलन’ ले ‘सार्क फाइनान्स’ लाई औपचारिक मान्यता दिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।