इमर्जिङ नेपाल लिमिटेड (ENL) को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आजदेखि नेप्सेमा कारोबार खुला हुँदैछ । कम्पनीको सेयर फागुन २० गते शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको थियो ।
कम्पनीले जारी गरेको चुक्ता पूँजीको दश प्रतिशतहुन आउने ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहित कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको हो ।
शुक्रबार सूचीकृत भएको कम्पनीको सेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएको हो ।
कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारका लागि इएनएल कारोबार सकेत (सिम्बोल) दिइएको छ । अबदेखि कम्पनीको सेयर आइतबारदेखि यहि कारोबार संकेतमा कारोबारमा खुल्नेछ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम १०५.११ रूपैयाँदेखि अधिकतम ३१५.३३ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।
नेप्से कुनैपनि कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सो कम्पनीको पछिल्लो परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई न्यूनतम आधार मानी त्यसको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्ने गरेको छ ।
कम्पनीले माघ २६ गतेदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जारी सेयरमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूबाट आवेदन मागिएको थियो ।
अन्तिम दिनसम्ममा कम्पनीको सेयरमा २३ लाख २८ हजार ७०६ जनाले आवेदन दिएकोमा २ हजार ५५२ वटा आवेदन रद्द भएको थियो भने मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो ।
गोलाप्रथाबाट भएको बाँडफाँडमा भाग्यमानी ५१ हजार ६७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । तीमध्ये ८ जनाले थप १ कित्ताका दरले कुल ११ कित्ता आईपीओ हात पारेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया