एनआईसी एशिया बैंकको एजिएम चैत २० गते, लाभांश रोकिँदा सेयरधनीको हात खाली

0
Shares

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आगामी चैत २० गते २४ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले यसअघि १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद प्रस्ताव गरी राष्ट्र बैंकसँग स्वीकृति मागेको थियो । तर बैंकले उच्च कर्जा विस्तार गरेका कारण क्यापिटल कन्जरभेसन बफर नदेखिएको भन्दै केन्द्रीय बैंकले बैंकको लाभांश वितरणमा रोक लगाएपछि बैंकको लाभांश रद्द भएको हो ।

फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश अस्वीकृत भएसँगै बैंकले बिना लाभांश चैत २० गते एजिएम आह्वान गरेको छ । आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे सभा बोलाइएको छ ।

सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका रहेका छन् ।
बैंकले साधारण सभा प्रयोजनका चैत ८ गते मंगलबारदेखि २० गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । बुकक्लोजको आधारमा चैत ७ गते सोमबारसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।