सेञ्चुरी बैंक १२ औं वर्षमा, पूँजी करिब पाँच गुणाले बढ्दा कर्जा -निक्षेपमा ७० गुणा वृद्धि

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बाह्रौं वर्षमा प्रवेश गरेको छ । बैंकले यस अवधिमा चुक्ता पूँजी करिब पाँच गुणाले वृद्धि गरेको छ । कर्जा लगानी र निक्षेप संकलनको पनि औसतमा ७० गुणा वृद्धि भएको देखिन्छ । बैंककाे कर्जा र निक्षाेप संकलन करिब खर्ब नजिक पुगेकाे छ ।

एघार वर्ष अघि स्थापित बैंकले समीक्षा अवधिमा २ अर्बको चुक्ता पूँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप परिचालन १ अर्ब ३५ करोडबाट ६८.५७ गुणा वृद्धि भएर ९२ अर्ब ५७ करोड पुगेको छ । बैंकको कर्जा लगानी निक्षेप संकलनभन्दा बढी अर्थात ७५.०८ गुणाले बढेको छ । एघार वर्षअघि बैंकको ऋण प्रवाह १ अर्ब १८ करोड रहेकोमा हाल ८८ अर्ब ५९ करोडभन्दा बढी पुगेको छ । यस्तै बैंकको कर्मचारी संख्या स्थापना हुँदा ४४ जना रहेकोमा हाल १ हजार १ सयभन्दा बढी पुगेको छ । यस हिसाबले वाणिज्य बैंकमा कान्छो बैंक सेञ्चुरीले अर्थतन्त्रमा समेत महत्वर्पूण योगदान दिन सक्षम भएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले एघार वर्ष अघि सरल बैंकिङ्ग सबैंका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा ठूलो र मजबुद बैंक बनेकोे बताए ।

उनले बैंक आगामी दिनमा ग्राहकवर्गलाई अझ प्रभावकारी छिटोछरितो एवं गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धथा जनाएका छन् । उनले बैंकको व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन कायम राखी बैंकलाई सेयरधनी, कर्मचारी, नियमनकारी निकाय लगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले आगामी दिनमा डिजिटलाइजेसनलाई जोड दिने बताए । उनले संस्था स्थापनाकाल र बैंकलाई यहाँसम्म ल्याउन अतुलनिय योगदान गरेका सबैलाई हार्दिक सम्मान व्यक्त गर्दै बैंकलाई अझ बढी सुदृढ र सबल बनाउँदै थप शाखा सञ्जाल विस्तार गर्ने तर्फ लागेको उल्लेख गरे । यस्तै वित्तीय सचेतना अभिवृद्धि एवं उद्यमशिलता विकास गरी सामाजिक आर्थिक उत्थान एवं व्यवसाय वृद्धि गर्दै जाने उनको भनाई छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २६ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

विभिन्न कार्यक्रमका साथ ११ औं वार्षिकोत्सव सम्पन्न

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

एघारौं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ४८ जना कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लुम्बिनी आइ इन्टिच्यूटका व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई आँखा उपचारमा प्रयोग हुने महत्वपूर्ण उपकरण इन्टिरियर भिटेक्ट्रोमी मेसिन खरिदको लागि ४ लाख २ हजार २८० रुपैयाँ र गोविन्द मेमोेरियल एकाडेमी दिङ्ला भोजपुरमा विद्यार्थीहरुका लागि खानेपानी पाइप खरिदका निम्ति संस्थाका अध्यक्ष डा. सुरेश बस्नेतलाई १ लाख सहयोग रकम सहयोग दिएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले उक्त सहयोग रकम हस्तान्तर गरेका हुन् ।

साथै बैंकले भोजपुर नगरपालिकामा आयोजित डा. भगवान कोइराला लगायत ५० जनाभन्दा बढी चिकित्सक संलग्न हुने स्वास्थ्य शिविर कार्यक्रमलाई ५० हजार नेपाल रेडक्रस सोसाईटी कमलामाई सिन्धुलीलाई गरिव तथा विपन्न वर्गलाई स्वास्थ्य सेवामा सहयोग गर्न स्वास्थ्य सेवा कोष स्थापनाका लागि १ लाख सहयोग प्रदान गरेको छ ।

बैंकले एघारौं वार्षिकोत्वका अवसरमा बैंकले देशभरका विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता, शिक्षा क्षेत्रमा सहयोग, संचेतना अभिवृद्धि, स्वास्थ्य, रक्तदान, परोपकार, वातावरण संरक्षण, सरसफाइ, लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकको वेलवारी, वुटवल, धरान, लामीडाँडा, बेलाटारी, चिचिला, गरुडा, जलेश्वर, गौशाला, जनकपुर, वद्रिवास, सिराहा, धुलिखेल, पनौती, साँगा, मनहरी, धार्के, टेकु, बुटवल, लेते मुस्ताङ, नेपालगञ्ज, वेलाटारी, धनगढी, सती लगायतका शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छन् ।

बैंकको रंगेली शाखाले डेन्टल शिवीर, झुम्का शाखाले आँखा चेक जाँच शिविर संचालन गरेको छ । कटारी शाखाले स्थानीय राधामन्दिर सरसफाइ, कमलामाई शाखाले कालीमाई मन्दिर, हलेशी शाखाले ऐतिहासिक हलेशी महादेव मन्दिर सरसफाइ, आठबीसकोट शाखाले नगरपालिकाको वार्ड नंं ९ मा डष्टविन वितरण गरेको छ ।

त्यसैगरी विराटनगर, भैरहवा, परासी र कोहलपुर शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन । विराटनगरमा ५१ जना, भैरहवामा ३६ जना, परासीमा २८ जना र कोहलपुरमा २६ जनाभन्दा बढीले रक्तदान गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।