एनबी बैंक गाभ्न नबिल बैंकलाई सैद्धान्तिक स्वीकृति

0
Shares

नेपाल राष्ट्र बैंकले नबिल र नेपाल बंगलादेश (एनबी) लाई एक आपसमा मर्जर तथा प्राप्तीमा जान सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नबिल बैंकलाई एनबी बैंक एक आपसमा एक्वीजिशन गन सैद्धान्तिक स्वीकृति दिएको पत्र आइतबार दुबै बैंकलाई पठाएको हो ।

डीडीए प्रतिवेदनपछि एक्वीजिशन प्रक्रिया पूरा गर्न दुबै बैंकले विशेष साधारण सभाबाट मर्जर तथा प्राप्ती प्रस्ताव पारित गर्नेछ ।

चालु आर्थिक वर्षभित्रै एकीकृत कारोबार गर्न लक्ष्यका साथ नबिल बैंकले एनबी बैंकलाई एक्वीजिशन गर्न पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । नबिलले नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर बराबर ४३ कित्ता हुने गरी प्राप्ति गर्न लागेको हो । आइएफआइसीको स्वामित्वमा रहेको सेयर नबिल बैंकको मूख्य लगानीकर्ता विनोकुमार चौधरीकी श्रीमती सारिका चौधरीले खरिद गर्ने टुंगो लागेपछि मर्जरको औपचारिक सहमति बनेको थियो। 

प्राप्तिसम्बन्धी उक्त सम्झौतामा नबिलका तर्फबाट सञ्चालक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए । राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पाएसँगै एक्वीजिशन प्रक्रियाका लागि दुबै कम्पनीको सम्पत्ति र दायित्वको मूल्याङ्कन (डीडीए) गर्न मार्ग प्रशस्त भएको छ ।

एनबी बैंकलाई एक्विजेशनपछि नबिल बैंकको चुक्ता पूँजी करिब २३ अर्ब पुग्नेछ भने निक्षेप ३ खर्बभन्दा बढी तथा कर्जा करिब ३ खर्ब पुग्नेछ ।
नबिलले एनबि बैंकलाई प्राप्ति गरेपछि बैंकको प्राथमिक पूँजी ४३ अर्ब पुग्नेछ । नबिल बैंकमा एनबी बैंक गाभिएपछि सञ्चालक समिति र सीइओ तथा एकीकृत कारोबार पनि नबिल बैंकको नै नामबाट हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।