
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था (आईडब्लूएमआई नेपाल कार्यालय) र इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युट (आईएफपिआरआई) ले नेपाल सरकारको जलस्रोत तथा सिँचाइ विभागसँगको सहकार्यमा गङ्गानदी बेसिन सम्बन्धी नेक्सस गेन्स: समग्र जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली (वन, जैविक विविधता) मा बहुलाभहरू हासिल गर्ने शीर्षकमा विकास अनुसन्धानमूलक नयाँ पहलको सुरुवात गरेको छ ।
अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्श समूह (सिजीआईएआर) को विश्वव्यापी पहलको रूपमा रहेको नेक्सस गेन्सले पूर्वी र दक्षिण अफ्रिका (ब्लू नाइल र लिम्पोपो बेसिन), मध्य एशिया (अरल सागर बेसिन) र दक्षिण एशिया (गङ्गा र सिन्धु बेसिन) का ट्रान्सबाउन्ड्री ब्रेड–बास्केट (सीमापार अन्नबाली भण्डार) बेसिनहरूमा जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली (डब्लूईएफई) हरूको अध्ययन अनुसन्धान गर्नेछ ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र नेपाल र इन्टरनेशनल सेन्टर फर ट्रपिकल एग्रिकल्चर र इन्टरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्युट नेपाल (अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान केन्द्र) सँगको सहकार्य गरी आईडब्लूएमआई र आईएफपिआरआईको अगुवाइमा काठमाडौंमा नेक्सस गेन्स उद्घाटन कार्यशाला आयोजना गरियो । यी सबै संस्थाहरू कन्सल्टेटिभ ग्रुप अन इन्टरनेशनल एग्रिकल्चरल रिसर्च (अन्तर्राष्ट्रिय कृषि अनुसन्धान परामर्श समूह) मा साझेदार रहेका छन् ।
यसैगरी राष्ट्रियस्तरका शैक्षिक संस्था र विश्वविद्यालयहरू (विशेषगरी जल व्यवस्थापन, कृषि, वन, र वातावरणीय दिगोपनको अध्ययन अध्यापनमा संलग्न शैक्षिक संस्था); अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरू, क्षेत्रीयस्तरका संस्थाहरू, अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था (इसिमोड) र गैरसरकारी संस्थाहरू; नेपाल कृषि अनुसन्धान परिषद्, निजी क्षेत्रका प्रतिनिधिहरू; नागरिक समाजका संस्थाहरू (फिकोफन, हिमान्ती, डानर, र विभिन्न विकास साझेदारहरू (युएसएआईडी, जीआईजेड, एडिबी, एसएनभी, विनरक इन्टरनेशनल, वाटरएड, एशियन डिजास्टर प्रिपेडनेस सेन्टर, आईयुसिएन, आदि) लगायतका प्रतिनिधिहरू समावेश थिए ।

जल, ऊर्जा, खाद्य, र पारिस्थितिकीय प्रणालीका क्षेत्रहरूले मिलेर काम गर्न आवश्यक छः ऊर्जामन्त्री भुसाल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय मन्त्री पम्फा भुसालले कार्यक्रमको उद्घाटन गर्दै नेपालको सामाजिक–आर्थिक विकासका लागि जलस्रोत एउटा प्रमुख तत्व रहेकाे बताउँदै एउटा क्षेत्रलाई मात्र हेरेर यो हासिल गर्न नसकिने बताइन् । मन्त्री भुसालले भनिन् । “अन्य क्षेत्रहरू पनि उत्तिकै महत्वपूर्ण छन्, र जल, ऊर्जा, खाद्य, र पारिस्थितिकीय प्रणालीका क्षेत्रहरूले मिलेर काम गर्न आवश्यक छ ।”
कार्यशालाको समयमा सहभागीहरूले नेपालमा जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली नेक्सस पद्धतिलाई प्रवद्र्धन र संस्थागत गर्ने अवसर एवं चुनौतीहरूबारे आफ्ना विचारहरू साझा गर्नुका साथै गङ्गा बेसिनमा नेक्सस गेन्स पहलको ढाँचाभित्र रहेर गर्न सकिने सम्भावित गतिविधिहरू औंल्याए ।
त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका माननीय सदस्य जुद्ध गुरुङले भने, “सबै क्षेत्रहरूले एकीकृत रूपमा मिलेर काम गर्नुपर्छ, र नेक्सस गेन्सजस्ता कार्यक्रमहरूले यस क्षेत्र र बेसिन–स्तरहरूमा ठूला प्रणालीगत सोचलाई सहयोग गर्ने प्रमाण, साधन र पद्धतिहरू सिर्जना गर्न सहयोग गर्नुपर्छ,” ।
सहभागीहरूले जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली रूपान्तरणका चुनौतीहरूका लागि स्थानीय समाधानमा पनि जोड दिएका थिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ तथा पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले “नेपालमा दिगो वृद्धि तथा समावेशी विकास हासिल गर्नका लागि जल, ऊर्जा, खाद्य, र पारिस्थितिकीय प्रणालीको एकीकृत पद्धति को यात्रा” नामक प्यानल छलफलको सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर कुमार राईले गरेका थिए ।
नेपालको संघीय संसदको राष्ट्रिय सभाकी माननीय सदस्य डा. बिमला राई पौड्यालले नेपालमा कामको जिम्मेवारी महिलाहरूमा सर्ने प्रवृत्तिको सन्दर्भमा कुरा गर्दै महिलाहरूलाई कमजोर वा संवेदनशील भन्ने नजरबाट हेर्न छोडेर उनीहरू पनि परिवर्तनका संवाहकका रूपमा र यस नयाँ पद्धति तथा अभ्यासमा क्षमता सहितका पात्रहरूको रूपमा हेर्न थालिनुपर्ने आवश्यकता रहेको बताइन् ।
“हामीसँग गुमाउने कुनै समय छैन,” नेक्सस गेन्स पहलकदमीको अगुवाइ गर्दै प्रो. स्टेफान उलेनब्रुकले थपे , “समावेशी, दिगो विकासका लागि एकीकृत व्यवस्थापनको जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली प्रणाली आवश्यक छ । यो जलवायु उत्थानशीलता निर्माणका लागि पनि महत्वपूर्ण छ ।”
आईडब्लुएाआई नेपालका नेपाल राष्ट्र प्रतिनिधि डा. मनोहरा खड्काले जलवायु सङ्कटको समयमा जल, ऊर्जा, जमिन, खाद्य, वन र जैविक विविधता स्रोतहरूको एकीकृत व्यवस्थापनले सामाजिक–आर्थिक रूपान्तरण र लैङ्गिक समानता हासिल गर्न सहयोग पुग्ने बताए । यी कारणहरूका लागि, नेक्सस गेन्सले जल, ऊर्जा, खाद्य र पारिस्थितिकीय प्रणाली शासनका महत्वपूर्ण सरोकारवालाको रूपमा रहेका महिला, युवा, र सीमान्तकृत समूहहरूको क्षमता (एजेन्सी) अभिवृद्धिमा सहयोग गर्ने उनको भनाई थियो ।
उद्घाटन कार्यशालामा समापन मन्तव्य दिँदै जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले नेपालको परिप्रेक्ष्यमा खाद्य, ऊर्जा, तथा पारिस्थितिकीय प्रणालीलाई ध्यानमा राखी हेर्दा जलस्रोतको विकासमा एकीकृत पद्धति अपनाउनु जरुरी रहेको बताए । “यस उद्घाटन कार्यशालाले हामी (नेपाल सरकार) लाई यस एकीकृत पद्धतिको पृष्ठभूमि बुझ्न र यस एकीकृत पद्धतिको सन्दर्भमा अनुसन्धानको सान्दर्भिकता बुझ्न मद्दत गरेको छ”, उनले भने ।
कार्यशालामा करिब ११५ जना विज्ञहरूको सहभागिता रहेको थियो । सहभागीहरूमा जलस्रोत, वन, ऊर्जा, सिँचाइ, कृषि, जलवायु परिवर्तन र ग्रामीण विकास लगायतका क्षेत्रको व्यवस्थापनमा जिम्मेवार मन्त्रालय तथा निकायका प्रतिनिधिहरू; जल तथा ऊर्जा आयोग सचिवालयका प्रतिनिधिहरू समावेश थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया