नेपाल एसबिआई बैंकको खुद नाफा १२.८९ प्रतिशतले बढ्यो


काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड बैंकको खुद नाफामा १२.८९ प्रतिशतले वृद्धि भएको छ । गत असार मसान्तसम्ममा बैंकले २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

बैंकले सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

बैंकको नाफा बढ्नुमा ब्याज आम्दानीमा भएको वृद्धि र ऋण नोक्सानी व्यवस्थापन बापत छुट्याउनुपर्ने रकम घट्नु मुख्य कारण रहेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३० प्रतिशतले बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी ७.१२ प्रतिशतले बढेर १ अर्ब ३० करोड २८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी पनि ५.२१ प्रतिशतले बढेर ७ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा ६.२२ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी, ऋण नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकम अघिल्लो आर्थिक वर्षको १ अर्ब ३ करोड ५ लाख रुपैयाँबाट घटेर ९४ करोड १ लाख रुपैयाँमा झरेको छ । यसले बैंकको सञ्चालन मुनाफा र खुद नाफा बढाउन थप सहयोग गरेको हो ।
नाफामा वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी १.४२ रुपैयाँले बढेर १८.४ रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ११.४ रुपैयाँ रहेको छ ।

गत असार मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १९४.७३ रुपैयाँ रहेको छ । यस्तै, बैंकको मूल्य–आम्दानी अनुपात २१.७७ गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा सञ्चित कोषमा १० अर्ब ७३ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकले १ खर्ब ४६ अर्ब ७७ करोड रुपैयाँ कर्जा तथा सापटी लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ६.६२ प्रतिशत र कर्जा लगानी ८.२३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार  १३ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।