
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३६ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री खुला गरेको छ । । यो लघुवित्तको जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत बराबरको रकम हो ।
कम्पनीले चैत २५ गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
जारी सेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तले निष्काशन गरेको सेयरमा चैत २९ गते मंगलबारसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा लघुवित्तलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त कम्पनीहरुमा दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।
आईपीओ जारीपछि लघुवित्तको चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट चैत ७ गते आईपीओ जारी गर्न अनुमति पाएको थियो ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया