
नेपाल पुनर्बीमा कम्पनीको बोनस अर्थमन्त्रालयबाट स्वीकृतिमा ढिलाई हुँदा सूचीकरण तथा वितरणमा ढिलाई भएको छ ।
अर्थमन्त्रालयबाट स्वीकृति पाउनुपर्ने प्रक्रियामा नै ढिलाई भएपछि बोनस सेयर अझै सूचीकृत भएको छैन । पुनर्बीमा कम्पनीको २०७८ पुस २२ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित भएको १६.५० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि समेत २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
गत फागुनमै नगद लाभांश वितरण गरिसकेको कम्पनीले साधारण सभाबाट पारित भएको तीन महिना बितिसक्दापनि बोनस सेयर सूचीकृत नहुँदा आम लगानीकर्ताको सम्पत्ति बन्धक बनेको हो । कम्पनीमा सर्वसाधारणको १६ प्रतिशत, विभिन्न कम्पनीको ३९.९६ प्रतिशत र सबैभन्दा धेरै हिस्सा रहेको सरकारको ४४.०४ प्रतिशत छ ।
पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले बोनस सेयर सूचीकरण प्रक्रिया ढिलाई भएकोमा कम्पनी पनि चिन्तित रहेको बताउँदै बोनस सेयर सूचीकरणका लागि अर्थमन्त्रालयको स्वीकृति आवश्यक पर्नेे बताए । कम्पनीको तर्फबाट अर्थमन्त्रालयले पूरा गर्नुपर्ने कार्यका लागि बारम्बार अनुरोध भैरहेको उनले जानकारी दिए ।
नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा आईपीओ जारीपछि पहिलो पटक आर्थिक वर्ष बाट कुल १९ प्रतिशत लाभांश वितरण गरेको हो । साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले पुस १४ गते बुकक्लोज गरेको थियो । बुकक्लोज अनुसार पुस १३ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त बोनस पाउनेछन् ।
पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको नेपाल पुनर्बीमा कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणमा आईपीआ बिक्री गरेको थियो ।
आईपीओ जारी गरेको दोस्रो वर्षको मुनाफाबाट भने कम्पनीले कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले आईपीओ जारी गरेको पहिलो वर्षमा ५ प्रतिशत बोनस सेयर वितरण गर्ने योजना बनाएको भएपनि बीमा समितिले लाभांश वितरणमा रोक लगाएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया