राष्ट्रिय वाणिज्य बैंकको ५ अर्बको ऋणपत्र सानिमा क्यापिटल मार्फत बिक्री गरिने

0
Shares

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘आरबिबिएल डिबेन्चर २०८९’ निष्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरले कुल ५ अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्ने बैंकले जनाएको छ ।

आरबिबिएल डिबेन्चर २०८९, नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

केयर रेटिङ्ग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने केयर रेटिङ्ग एनपि ए प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।