सीवाइसी नेपाल लघुवित्तको आईपीओमा २२ लाख ७७ हजारले भरे, ६९ गुणा बढी आवेदन

0
Shares

सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदनको ओइरो लागेको छ ।

बैशाख २ गते शुक्रबारदेखि सर्वसाधारणमा बिक्री खुला भएको सार्वजनिक निष्काशन आईपीओमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७४३ वटा आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

सिडीएससीका अनुसार मंगलबार साँझसम्ममा सर्वसाधारणबाट माग भएको सेयरको ६९.५२ गुणा बढी हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा २ अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता सेयरको लागि आवेदन परेको छ ।

लघुवित्तले शुक्रबारदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशित कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त संस्था तथा तिनका शाखा कार्यालयहरु मार्फत बैशाख ६ गते मंगलबारसम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था थियो । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई ‘केयर एनपी डबल बि माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।