सरकारले नीतिगत रूपमै निर्णय गरे सेना जलविद्युतमा लगानी गर्न तयार

0
Shares

नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले सरकारले नीतिगत रूपमै निर्णय गरे सेनाले जलविद्युत विकासमा पनि लगानी गर्ने बताएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग आज मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच जलविद्युतको विकास तथा खपतका विषयमा छलफलमा महारथी शर्माले जलविद्युत परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाएका हुन् ।

प्रधान सेनापतिसँगको भेटमा मन्त्री भुसालले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरिन् ।

सो अवसरमा उनले सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्ने र विद्युत खपत प्रवद्र्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरेकी थिइन् । उनले भनिन्, “ अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौं । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।”

आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत खपत हुँदा हाम्रो पूँजी बाहिर जाँदैन ।” नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन् ।

भेटमा महारथी शर्माले वातारण संरक्षण र देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि विद्युत खपत बढाउनुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । उनले भने, “हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौं, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौं ।”

महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै भने, “मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।”

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थित थिए ।
यस अघि ऊर्जा मन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन् ।

त्यसैगरी उनले ठूला होटलका साथै रेष्टुराँमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आइरहेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।