चौवालिस अर्ब डलरमा इलोन मस्कले किने ट्वीटरको सम्पूर्ण स्वामित्व

0
Shares

टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले दुई चरणमा गरेर माइक्रो ब्लगिङ साइट ट्वीटरको सम्पूर्ण सेयर स्वामित्व खरिद गरेका छन् ।

समाचार एजेन्सी ‘रोएटर्स’ ले ४४ अर्ब डलरमा ट्वीटरको सम्पूर्ण स्वामित्व खरिद गर्ने सम्झौतामा मस्क र ट्वीटरबीच सोमबार सहमति भएको जनाएको छ ।

सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको हो । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।

मस्कले ट्वीटर खरिद गर्नका लागि ४६.५ अर्ब डलर लगानी सुरक्षित जुटाएका थिए । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो । लगानी जुटाएको खबर सार्वजनिक भएपछि ट्वीटरका सेयरधनीहरुले पनि बिक्रीका लागि बोर्डलाई दबाब दिएका थिए । यसअघि भने मस्कको प्रस्तावपछि ट्वीटरले रक्षात्मक बन्दै ‘पोइजन पील’ लागू गरेको थियो ।

ट्वीट श्रृङ्खलामा उनले कम्पनीको हेडक्वाटरलाई घरबारविहीनहरुको लागि आश्रय बनाउनेदेखि प्लेटफर्मको ‘प्रिमियम सर्भिस’ बाट विज्ञापन हटाउनेबारे सवाल गरेका थिए । यस्तै उनले त्यसबेला ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए । उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए ।

टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले गत चैत २१ गते पहिलोपटक ट्वीटरको ९.२० प्रतिशत सेयर ५४.२० डलर प्रतिसेयरका दरले खरिद गरेका थिए । उनले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका थिए । त्यसपछि मस्कले ट्वीटरको बाँकी सबै सेयर ४४ अर्ब डलरमा खरिद गरेर ट्वीटरको मालिक बनेका हुन् ।

यससँगै विश्वभरका राजनीतिज्ञ र लाखौं प्रयोगकर्ताहरुले भरिएको सामाजिक सञ्जाल अर्बपति इलोन मस्कमा पुगेको छ । समाचार र राजनीतिक एजेन्डालाई आकार दिन ट्वीटरले संसारभर निर्णायक भूमिका खेलेको पाइन्छ ।

फोब्र्स पत्रिकाका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति मस्क २७३.६० अर्ब डलरको सम्पत्तिका मालिक हुन् । २७३ अर्ब डलरको सम्पत्तिका मालिकको हातमा ट्वीटरको स्वामित्व पुग्नु एक संवेदनशील मुद्दा भएको जानकारहरु बताउँछन् । उनी विद्युतीय कार निर्माता कम्पनी ‘टेस्ला’ र रकेट कम्पनी ‘स्पेसएक्स’का सीईओ पनि हुन् । लोकप्रिय व्यक्तिहरुमध्येका एक इलोन मस्कका ८१.६ मिलियन फलोअर छन् ।

ट्वीटरको वार्षिक आम्दानी ५ बिलियन डलर बराबर रहेको छ । जसमा ९० प्रतिशत योगदान विज्ञापनको छ । ट्वीटरको पछिल्लो चौमासिक प्रतिवेदन अनुसार यस वर्ष दैनिक सक्रिय प्रयोगकर्ताहरू २५ मिलियनले बढेर २१७ मिलियन पुगेको छ । कम्पनीले अर्को वर्षको अन्त्य सम्ममा ट्वीटरले ३१५ मिलियन दैनिक सक्रिय प्रयोगकर्ता पुग्ने लक्ष्य कायम राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।