लेखापरीक्षण व्यवसायमा इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको अत्यन्तै आवश्यकता छ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षण व्यवसायमा इकान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको अत्यन्तै आवश्यक रहेको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक विमुख हुन नहुने बताएका हुन् ।

अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायीक लेखापरीक्षण हुनुपर्ने बताउँदै उनले भने, “कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथी भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखापरीक्षकहरुले ध्यान दिनुपर्छ ।”

जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा लेखापरीक्षकले ख्याल राख्नुपर्ने उनले बताए ।

लेखापरीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनको भनाई छ । ‘निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखापरीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ’ उनले भने, ‘लेखापरीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

उनले वित्तीय अनुशाशन कायम गर्न/गराउन लेखा परिक्षकको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाब किताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्ने बताए ।

गरिबी अन्त्यका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’ हुनुपर्ने बताउँदै उनले भने,“‘वषौंदेखी बहुआयामिक गरिबी किन भइरहेको छ, यसको अडिट गर्नुप¥यो, जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो की ?” अब गरिबीको सही ढङ्गले अडिट गरियो भने सुधार गर्न सकिने समेत उनले बताए ।

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानी लगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको मन्त्री शर्माले बताए । “अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ” उनले भने, “मुलुकलाई आत्मनिर्भर बनाउने गरी मुलुक भित्रको स्रोत साधनको अधिकतम उपयोग गर्ने बेला आएको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार  १६ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।