
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ ।
भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उनले बताए ।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ ।
इलामसँग जोडिएका भारतीय सीमा नाका बन्द गरिने
आसन्न निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा आज रातिदेखि बन्द गरिने भएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा आज रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ ।
यसैबीच निर्वाचनलाई मध्यनजर गरी आजदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ । मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया