साताको तेस्रो कारोबार दिन मंगलबार जलविद्युत समुहले लिड गरेपछि नेप्सेमा ४४ अंकको उछाल आएको छ ।
यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचकमा वृद्धि भएकोमा सबैभन्दा धेरै जलविद्युत समुह ३.८० प्रतिशतले बढेको छ । शीर्ष सेयरमूल्य बढ्न दश कम्पनीमा ९ र शीर्ष दश ठूलो कारोबार भएको कम्पनीमा पाँच जलविद्युत कम्पनी रहेका छन् ।
विद्युत नियमन आयोगले मंगलबार ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई क्रमशः १५० र १०० प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएपछि अन्य जलविद्युत कम्पनीहरुको सेयरमूल्य पनि सँगसँगै उकालो लागेका हुन् ।
अन्य जलविद्युत कम्पनीहरु पनि साधारण सभाबाट प्रस्ताव पारित गरेका तथा केही हकप्रदबाट अन्य आयोजनामा लगानी बढाउने तयारीमा रहेकाले यस क्षेत्रमा सूचीकृत अधिकांश कम्पनीको सेयरमूल्य बढ्न पुगेको छ ।
आजको कारोबारमा बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर र जाल्पा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी अन्य कम्पनीहरुमा युनियन, दिब्यश्वरी, नेशनल, राधी, अरुण काबेली, लिवर्टी इनर्जी र युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावरको सेयरमूल्य बढेको छ । यी कम्पनीहरुको सेयरमूल्य ७.८६ देखि ९.९७ प्रतिशतसम्म वृद्धि भएको छ ।
आयोगबाट हकप्रद अनुमति पाएसँगै मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख, नेपाल टेलिकमको ३ करोड ८३ लाख, बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख र नबिल बैंकको ३ करोड ६८ लाख रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
यसदिन नेप्से सूचक १.९५ प्रतिशत अर्थात ४४.१६ अंकले बढेर २३१३.०० बिन्दुमा कारोबार बन्द भएको छ । आइतबारदेखि उकालो लाग्न थालेको सूचकमा मंगलबार तेजी आएको हो । यसदिन ठूला कम्पनीको कारोबार मापक सूचक ७.६७ अंकले बढेर ४४७.१४ बिन्दुमा पुगेको छ ।
यस दिन जलविद्युतपछि फाइनान्स उपसमूहको सूचक दोस्रो ठूलो ३.२७ प्रतिशत, विकास बैंकको २.६५ प्रतिशत, लगानी २.२९, जीवन बीम २.०२ र अन्य २.०१ प्रतिशतले बढेको छ ।

यस दिन २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर २६ हजार ५६५ संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ पुगेको छ । नेप्सेमा बढोत्तरी भई सूचीकृत कम्पनीको मूल्य बढेसँगै कुल बजार पूँजीकरण ३२ खर्ब ९० अर्ब ५७ करोड ९८ लाख रुपैयाँ पुगेको छ ।
मंगलबार कारोबारमा आएका २२६ मध्ये १९६ वटा स्टकको सेयरमूल्य बढेको छ भने २० वटा स्टकको घटेको छ । १० वटाको सेयरमूल्य स्थिर छ ।
आजको कारोबारमा एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.८२ प्रतिशतले घटेर ८.५० रुपैयाँमा झरेको छ । यसैगरी उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशत, गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाँउ रिजेन्सी होटलको सेयरमूल्य १.५४ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया