चैतमा मात्रै ३ अर्ब रुपैयाँले घट्यो विदेशी विनिमय सञ्चिति


चालु आर्थिक वर्षको चैत महिनामा मात्र विदेशी विनिमय सञ्चिति ३ अर्ब रुपैयाँले घटेको छ । फागुन महिनामा विदेशी विनिमय सञ्चितिको गिरावट २ अर्ब रुपैयाँले थियो ।

चालु आर्थिक वर्षको पुस महिनामा ४८ अर्ब ५० करोड रूपैयाँले घटेको विदेशी विनिमय सञ्चिति माघ महिनामा भने ८ अर्बले बढेको थियो । पुस महिनामा आएको विदेशी विनिमयको गिरावटमा परेको दबाबका कारण सुरु भएको चौतर्फी चर्चाका कारण त्यसपछिका महिनामा घट्ने क्रममा कमी आएको देखिन्छ ।

पछिल्लो समयमा विदेशी विनिमयमा आएको गिरावटलाई लिएर श्रीलंककासँग तुलना गर्न थालिएपछि सरकारले नै आयातमा नियन्त्रण गर्ने नीति अबलम्बन गर्यो । त्यसले गर्दा पनि आयमा कमी आएसँगै विदेशी विनिमय सञ्चितमा आएको गिरावटमा समेत उच्च दरमा कमी आएको हो ।

विसं २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११६७ अर्ब ९२ करोड कायम भएको नेपाल राष्ट्र जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १०२१ अर्ब ४५ करोड रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई १४६ अर्ब ४८ करोड कायम भएको छ । २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।