भोलि देशभर हुन गइरहेको स्थानीय निर्वाचनको प्रभावका कारण बैंकिङ्ग प्रणालीमा थपिँदो निक्षेप र नेपाल बैंकर्स संघले जेठमा ब्याजदर नबढाउने निर्णय गर्दा पछिल्लो दिनहरुमा सेयर बजार सूचक नेप्से बढ्दो क्रममा रहेको छ ।
बुधबार ५६.०६ अङ्कले बढेको बजार सूचक बिहीबार पनि बढ्ने आंकलन गरिएको छ । चुनावका कारण बजारमा तरलता सहज हुने विश्वासका साथ लगानीकर्ताले सेयर बजारमा लगानी बढाउँदा बुधबार आधार सतक बढी अङ्कले नेप्से परिसूचक बढेको हो ।
हिजो बुधबार धितोपत्र बजारमा सेयर कारोबार मापक नप्से परिसूचक ५६.०६ अङ्कले उकालो लागेर दुई हजार ३६९.०६ मा पुगेको छ । अब आज साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारले लय समाउने निश्चित जस्तै देखिन्छ । जेठदेखि आइतबार पनि सेयर बजार बन्द हुने भएकाले शुक्रबार पनि सेयर बजार खुला रहनेछ ।
चालु आर्थिक वर्षको अन्तिम त्रैमास भएका कारण पूँजीगत खर्च एक तिहाई हाराहारीमा मात्र खर्च भएका कारण सरकारलाई खर्च गर्न दबाब छ । अब भएका विकास निमार्णको कामको भुक्तानी पनि धमाधम आउने हुनाले बैंकिङ्ग प्रणालीमा रकम भित्रनेछ । बैंकरहरुले जेठमा ब्याजदरु न्बढाउने निर्णय गरेकाले ब्याजदरका आधारमा पनि लगानीकर्तालाई सहज नै हुने देखिन्छ ।
बुधबारको बजार यस्तो रह्यो
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ९.५२ अङ्कले उकालो लागेर ४५६.६६ अङ्कमा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोबार रकम मङ्गलबारको तुलनामा सामान्य वृद्धि भएको छ । कूल २२९ कम्पनीको ५३ लाख ३३ हजार १०९ कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ मूल्यमा खरिद बिक्री भए ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण ३३ खर्ब ७० अर्ब सात करोड ४५ लाख १० हजार बराबर पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको सूचकमा वृद्धि भएको छ । बैंकिङ २३.३७, व्यापार २१.१५, होटल तथा पर्यटन ५२.७९, विकास बैंक १५०.७३, जलविद्युत् १३०.३४, वित्त ७४.२, निर्जीवन बीमा २४३.७४, उत्पादन ७०.०२, अन्य ३१.७७, लघुवित्त १५३.८९, जीवन बीमा २१७.१७, सामूहिक लगानी कोष ०.१३ र लगानी २.२७ अङ्कले उकालो लागेको थियो ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी हिजो शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १० करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भयो । न्यादी ग्रुप अफ पावर ८ करोड ७३ लाख ४१ हजार ४४९, राधी विद्युत् कम्पनी ७ करोड ६२ लाख ६७ हजार २३१, शिवम् सिमेन्ट ६ करोड ७५ लाख ८८ हजार ४३७ र नेशनल हाइड्रोपावर ५ करोड ८० लाख ६२ हजार ६९७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज नौ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यसमा, नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिनर्जी पावर, राधी विद्युत् कम्पनी, युनिभर्सल पावर, जाल्पा सामुदायिक लघुवित्त, गणपति लघुवित्त, युनियन हाइड्रोपावर र वरुण हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै, सानिमा बैंकको ऋणपत्र १.६३, सानिमा इक्विटी फण्ड १.५१, लक्ष्मी उन्नति कोष १.४८, नेष्डो समृद्धि लघुवित्त १.०२ र सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले ०.४७ प्रतिशतका दरले गुमाए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया