‘स्टेबल कोइन टेरायुएसडी कोल्याप्स’ भएसँगै क्रिप्टोकरेन्सी ‘क्रयास’ हुने अवस्थामा


डलरसँग १ः१ को अनुपातमा पेग भएको स्टेबल कोइन टेरायुएसडी कोल्याप्स भएको छ । टेरायुएसडी कोल्याप्स भएसँगै क्रिप्टोकरेन्सी जस्तै बिटकोइन, इथेरियम पनि निकट भविष्यमा क्रयास हुने जोखिम बढेर गएको छ ।

गत साता अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले बढाएको औसत ब्याजदरका कारण विश्वव्यापी सेयरबजार, कमोडिटी मार्केट, क्रिप्टोकरेन्सी तथा स्टेबलकोइनमा गिरावट आइरहेको छ । यसै क्रममा क्रिप्टोकरेन्सीको सुरुवातकर्ता मानिने बिटकोइनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सन् २०२१ को नोभेम्बर महिनामा ६९ हजार डलर प्रति कोइनमा कारोबार भइरहेको बिटकोइन अवमूल्यन भएर सन् २०२२को मे मा सन् २०२० डिसेम्बर महिना यताकै न्युन २६ हजार १ सय ८७ डलर प्रति कोइनमा कारोबार भइरहेको छ ।

डलर दुई दशक यताकै उच्च हुँदा क्रिप्टो मार्केटमा क्रिप्टोकरेन्सीको मूल्यमा उच्च अस्थिरता छाएको छ । उच्च मुद्रास्फीति र त्यसलाई नियन्त्रण गर्न फेडरल रिजर्भ लगायतका बैंकहरुले अवलम्बन गरेको नियन्त्रणात्मक मौद्रिक नीतिका कारण क्रिप्टो लगानीकर्ताहरु आत्तिएका छन् । यसैगरी विश्वव्यापी रुपमा रहेको तरलता अभावको समस्याले गर्दा पनि क्रिप्टो लगानीकर्ताहरुले व्यापक सेल अफ गरिरहेका छन् ।

हङकङ स्थित क्रिप्टो इन्डेक्स फर्म, एक्सियन ग्लोबल एसेट म्यानेजमेन्टका लगानी निर्देशक स्कटी सिउ भन्छन्, “क्रिप्टोको खराब समय सकिएको छैन । आउने दिनहरुमा क्रिप्टो लगानीकर्ताहरु अझ निरुत्साहित हुने देखिन्छ । बढ्दो औसत ब्याजदरले क्रिप्टोको मूल्य थप खस्किने छ । कहिले मार्केटले स्थीरता प्राप्त गर्छ भन्नेमा विश्लेषकहरु पनि चुप छन् ।”

कोइन मार्केट क्यापबाट प्राप्त तथ्यांक अनुसार, डलर ब्याकड स्टेबलकोइन टेथर ९५ सेन्टसमा कारोबार भइरहेको छ । स्टेबलकोइन तथा बिटकोइनको मूल्य निकै अस्थिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।