
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत अन्तर्राष्ट्रिय मूल्य श्रृखलामा आवद्ध भएका वस्तुहरुको स्वदेशमा उत्पादन गर्न आवश्यक वातावरण तयार गर्न सहजीकरण गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटका सिद्धान्त र प्राथमिकता भनेको आत्मनिर्भर समाजवाद उन्मूख अर्थतन्त्रमा केन्द्रित हुने बताए । व्यवस्थापिका संसदमा मंगलबार आगामी बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै उनले आगामी बजेट तथा कार्यक्रम मार्फत आयातलाई क्रमशः घटाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा निर्यात प्रवर्द्धन गर्नु अपरिहार्य रहेको बताए ।
जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने गरी बजेटका सिद्धान्त र प्राथमिकता तय गरेको बताउँदै उनले भने, “राष्ट्रिय अर्थतन्त्रको जग बलियो बनाई सार्वजनिक ऋण तथा वित्तीय घाटा र मुद्रास्फीतिलाई वाञ्छित सीमा भित्र राख्दै समष्टिगत आर्थिक स्थायित्व कायम गरिने छ ।”
आगामी आर्थिक वर्षको बजेट नेपाली जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न तथा समाजवाद उन्मूख अर्थतन्त्रको आधार तयार पार्नमा केन्द्रित हुने उनको भनाई छ । सार्वजनिक सेवा प्रवाह, रूपान्तरणकारी र ठूला पूर्वाधार निर्माण तथा सामाजिक क्षेत्रमा सरकारको लगानी वृद्धि गरिने समेत उनले बताए ।
त्यसैगरी उनले आर्थिक वृद्धिको लाभ समाजका सबै वर्ग र समूहमा पुर्याई समावेशी आर्थिक विकासको आधार निर्माण गरिने समेत बताए । आगामी बजेटले कृषि, सडक, विद्युतीकरण, खानेपानी, स्वास्थ्य तथा शिक्षालाई ग्रामीण विकासको स्तम्भको रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ग्रामीण र शहरी क्षेत्रबीच अन्तर सम्बन्ध मजबुत बनाउन स्थानीय पूर्वाधार विकासमा लगानी केन्द्रित गरिने समेत मन्त्री शर्माले जानकारी दिए । उनले घरेलु तथा साना उद्योगका माध्यमबाट ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरिने उनको भनाई छ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषि र उद्योग क्षेत्रको प्रवद्र्धनबाट आधारभूत उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि गर्ने आगामी बजेटको प्राथमिकतामा रहेको छ । तुलनात्मक लाभ एवं अग्र र पृष्ठ सम्बन्ध उच्च भएका स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुहरूको उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्ने समेत आगामी बजेट केन्द्रित हुनेछ ।
उत्पादनमुखी अर्थतन्त्रको प्रवर्द्धन गर्दै विद्यमान कर प्रणालीमा सुधार गरी कुल राजस्वमा आन्तरिक राजस्वको योगदान बढाउँदै लगिने मन्त्री शर्माले बताए । आगामी बजेट मार्फत करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र राजस्व प्रणालीमा थप सुधार गरी कर प्रणालीलाई दिगो बनाइने समेत उनको भनाइ छ ।
सार्वजनिक ऋणलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र तथा पूँजी निर्माणमा उपयोग गरिने तथा आन्तरिक ऋण परिचालन गर्दा निजी क्षेत्रको वित्तीय साधन उपलब्धतामा प्रतिकूल प्रभाव पर्न दिइने छैन । वैदेशिक सहायतालाई राष्ट्रिय प्राथमिकता र पूँजी निर्माणका क्षेत्रमा परिचालन गर्ने गर्ने आगामी बजेट आउने उनी बताँउछन् ।
उत्पादन वृद्धि र पूर्वाधार निर्माणलाई आर्थिक समृद्धिको आधारको रूपमा लिई विनियोजन विधेयकका प्राथमिकता तय गरेको बताउँदै मन्त्री शर्माले भने,“कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम, प्राविधिक सहयोग, वित्तीय साधनमा पहुँच अभिवृद्धि एवं कृषि सामग्री सहजरूपमा उपलब्ध गराउने गरी बजेट तर्जुमा गरिनेछ ।” उनले खेतीयोग्य सबै जमिनको उपयोग गर्न भूमिगत तथा सतह सिंचाइ सुविधा विस्तार गरिने समेत बताए । कृषि उपजको बजार पहुँच विस्तार गर्ने तथा नश्ल सुधार र पशु स्वास्थ्य सेवा विस्तार गरी पशुपन्छी, माछाको उत्पादन प्रवर्द्धन गर्ने गरी आगामी आवको बजेट आउनेछ ।
निर्माणाधीन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामहरूको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तथा उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गरिने मन्त्री शर्माले बताए । निजी क्षेत्रलाई आर्थिक वृद्धिको इञ्जिनको रूपमा अगाडि बढाउन निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम निर्माण गरी वैदेशिक लगानी प्रवर्द्धन गरीने उनले बताए । लघु घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्ने र सार्वजनिक निजी साझेदारीमा समेत औद्योगिक क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आगामी आवको बजेट आउने मन्त्री शर्माले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया