विदेशी लगानी प्रवर्द्धनका लागि नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

0
Shares


नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्द्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।

यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तीय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्नेछ ।

नबिल बैंकले पुर्वाधार विकासमा विगत ३७ वर्ष देखि नै योगदान गर्दै आईरहेको छ । यसै क्रममा पुर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० वर्ष देखी नै निकै सहभागिता र सकृयता देखाउँदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवर्द्धन गर्दै आइरहेको छ ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पुर्वाधारकाे कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पूरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेको कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएको भट्टले बताए ।

त्यसैगरि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए । यसै क्रममा नबिल बैंक यस गरिमामय संस्था लगानी बोर्ड नेपालको कार्यालयको औपचारिक वित्तीय सल्लाहकार बैंकको रुपमा सम्झौता गर्न पाउँदा बैंक गौरान्वित रहेको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।