डलर हालसम्मकै महङ्गो, एक डलर साट्न १२४ रुपैयाँ ६७ पैसा खर्चनुपर्ने

0
Shares

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएरसँगै डलर दिन प्रति दिन बलियो बन्दै गएको हो ।

शुक्रबार एक अमेरिकी डलर खरिदका लागि १२४.६७ रुपैयाँ खर्चनु पर्ने भएको छ । एक वर्षअघि जेठ ६ गते एक अमेरिकी डलर बराबर ११७ रुपैयाँ ३७ रहेको थियो । पछिल्लो एक वर्षमा डलको भाउ ७ रुपैयाँ ३० पैसा बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठ ६ गते शुक्रबार १ डलरको भाउ खरिददर १२४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १२४ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । यो हालसम्मकै उच्च हो । राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको अमेरिकी डलरको विनिमय दरमा अघिल्लो दिनको तुलनामा २३ पैसाले बढी हो ।

पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरू बताउँछन् । विसं २०७४ पुसमा एक अमेरिकी डलरको भाउ अवमूल्यन हुँदै १०२ रुपैयाँसम्म झरेको थियो । 

विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात(निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ । डलर महँगो हुनुको अर्थ नेपाली रुपैयाँ कमजोर हुनु हो । नेपाली रुपैयाँको भारुसँग स्थिर विनिमय दर कायम छ । यसको यसकारण भारु कमजोर हुनु भनेको पनि नेपाली रुपैयाँ पनि कमजोर हुनु हो ।

पछिल्लो समय भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुलाई थप अवमूल्यन हुन नदिन भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाले २०.१० बिलियन डलर बिक्री समेत गरेको छ ।

भारु थप अवमूल्यन हुन नदिन आरबीआईले २०.१ बिलियन डलर बिक्री गर्दै

डलर महङ्गो हुँदा के असर हुन्छ ?

नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन् ।

डलरको भाउ बढ्दा नेपाल भित्रने विप्रेषण (रेमिट्यान्स) बाट फाइदा भएपनि त्यो भन्दा बढी आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा बढी घाटा पर्छ । डलर महङ्गिँदा वैदेशिक ऋणको लागत बढ्नुका साथै निर्यात महँगो पर्न जान्छ । डलर बढ्दा विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ ।

डलरको भाउ बढ्दा त्यसले पर्यटन मार्फत् हुने आम्दानी बढाइदिन्छ । नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ ।

यस्तै डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन् । डलर महँगो भएसँगै यसले उपभोग बढाएर व्यापार घाटा थप चुलिने हुँदा देशको शोधनान्तर घाटा थप बढ्छ ।

नेपाल उपभोग्य वस्तुदेखि विलासी सामाग्री गाडीसम्म सबै आयातमा निर्भर रहकाले डलर बढ्दा नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन्छ । नेपालका ६० प्रतिशत बढी व्यापार भारतसँग हुने गरेको छ । यसले इन्धनको मूल्य बढी तिर्नुपर्ने र भारु सस्तो हुँदा नेपालमा पनि महँगी बढ्नसक्ने हुनसक्छ ।

पछिल्लो समय करिब लाखको संख्यामा नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। शैक्षिक डिग्री हासिंँल गर्नका लागि उनीहरूले त्यहाँ विदेशी मुद्रामा रकम भुक्तानी गनुपर्छ । डलरको भाउ बढ्दा ती विद्यार्थीको परिवारमाथि आर्थिक बोझ थपिन्छ भने समग्रमा नेपाली अर्थतन्त्रमा नै त्यसको चाप पर्न जान्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार  १२ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।