
आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्ने उदेश्यका साथ नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालको एतिहासिक कार्यसमिति बैठक रारामा सम्पन्न गरेको छ ।
एशोसिएशनले शुक्रबार बिहान २ हजार ९९० मिटरको उचाईमा रहेको रारामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । कर्णालीको बिकट जिल्लामा रहेको मनोरम रारामा कार्यसमिति बैंठकलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले भने, ‘प्रकृतिको मनोरम स्थानमा नाडाले आफ्नो कार्यसमितिको बैंठक राखेर आन्तरिक पर्यटन विस्तारमा एक प्रकारको सन्देश प्रदान गर्न खोजेको हो । यसमा सबै पक्षको सहयोग महत्वपूर्ण रह्यो ।’
अध्यक्ष थापाले कर्णाली साँचै सुन्दर रहेको तर, आवश्यक पूर्वाधार विकास हुन नसक्दा पछाडि परेको देखिन्छ भन्दै भने, ‘देशमा पूर्वाधार निर्माणमा राज्यले थप लगानी गर्दै यातायात सञ्जालमा रारालाई छिट्टै जोड्नुपर्ने देखियो ।
बैंठकसँगै कर्णाली प्रदेशको कर्णाली अटोमोवाइल्स एशोसिएशनसँग पनि रारा तालको परिसरमा अन्तक्रिया कार्यक्रम आयोजना भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा कर्णाली अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष भद्र भण्डारीले यातायात पूर्वाधार निर्माण लगायत प्रदेश सरकार र केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन र अन्तर प्रदेश सम्बन्ध लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै नाडाका अध्यक्ष थापाले बजेट निर्माणको समयमा पनि धेरै विषयमा आफुहरुले सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी दिएका थिए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा बलियो बनाउन स्थानीय स्तरबाटै आउने समस्या समाधान गर्दै जानुपर्ने धारणा राखेका थिए । नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैगरी नेपालगञ्ज आसपासमा रहेका अटोमोवाइल क्षेत्रका समस्याको विषयमा शनिबार नेपालगञ्जको सिद्धार्थ होटलमा अन्तक्र्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । उक्त कार्यक्रममा लुम्बीनी अटोमोबाइल्सका अध्यक्ष गणेशप्रसाद भट्टराइ समेतको उपस्थिति रहेको थियो ।
नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशमा रहेर पर्यटकको ओसार पसारमा काम गर्ने पदमबहादुर रावललाई आर्थिक सहयोग गरेको थियो । रावलका दुई बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर नगद १५ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो ।
साथै, नाडाका सदस्यहरुले निजको परिवारका सदस्यलाई काठमाण्डौं वा जनकपुर जहाँ भए पनि रोजगारी दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया