
रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जेठ ९ गते सोमबार बाँडफाँड भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको रिभर फल्स पावर लिमिटेडको सेयर बाँडफाँडमा २ लाख ५३ हजार ८९० जनाले गोलाप्रथबाट १० कित्ताका दरले सेयर पाएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार भएको बाँडफाँडमा गोलाप्रथाबाट उक्त संख्याका आवेदकले मात्र सेयर पाएका हुन् ।
विभिन्न कारणबाट १६ लाख ५ हजार ३५२ जना आवेदकले सेयर प्राप्त गर्न सकेनन् । आईपीओमा आवेदन गरेकामध्ये ५३ हजार ८०२ वटा आवेदन रद्द भएको हो । जसमध्ये सि–आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट ४९ हजार ९८३ जना आवेदकहरुबाट ११ लाख ५१ हजार १२० कित्ता सेयरलाई परेको आवेदन रद्ध भएको छ । यस्तै दोहोरो आवेदनबाट परेको १ हजार ७०९ जना आवेदकहरुबाट प्राप्त १९ हजार ५०० कित्ता र स्थानीयबासीहरुले सर्वसाधारण सेयरमा २ हजार ११० जना आवेदकहरुबाट प्राप्त भएको २८ हजार १०० कित्ताको आवेदन पनि रद्द भएको हो ।
रिभर फल्स पावर लिमिटेडको निष्काशन गरिएको कूल सेयर २७ लाख ३० हजार कित्ता साधारण सेयर मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५०० कित्ता तथा कर्मचारीहरुलाई २ प्रतिशत बराबर ५४ हजार ६०० कित्ता छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब ८.४२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको हाे ।
आईपीओ कुल १८ लाख ५९ हजार २४२ वटा आवेदनहरुबाट २ करोड १३ हजार ९४ हजार ६३० कित्ताको लागि जम्मा आवेदन परेको थियो । आईपीओमा आवेदन गरेकामध्ये कुल १८ लाख ९ हजार ४४० जना आवेदकलाई बाँडफाँडका लागि योग्य भएका थिए । आवेदन गरेकामध्ये ३ हजार ८१९ जना आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट र मेरो सेयरकाे वेवसाइटबाट हेर्न सक्नेछन् ।
कम्पनीले सर्वसाधारणबाट (बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म) २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरीदका लागि आह्वान गरेको थियो । प्रतिसेयर १०० अंकित मूल्यमा कुल २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरिएको थियो । जारी सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी सेयरमा सर्वसाधारणका लागि खुला गरिएको थियो । उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
रिभर फल्स पावर कम्पनीले यसअघि चैत २७ देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको आगामी असार मसान्तसम्म आयोजनको निर्माण कार्य सम्पन्न गर्ने योजना छ । यस योजनाको कुल अनुमानित लागत प्रति मेगावाट १८ करोड ६ लाख १५ हजार रूपैयाँ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्म वास्तविक प्रतिसेयर नेटवर्थ ८७.९८ रुपैयाँ रहेको छ ।
हाल ३५ करोड ७० लाख चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ जारी पश्चात पूँजी ७० करोड पुग्नेछ । कम्पनीले स्थानीयमा बासिन्दालाई १० प्रतिशत सेयर बिक्री गरेको छ भने सर्वसाधारणमा ३९ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ पूँजी चुक्ता भैसकेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया