राष्ट्र बैंकले ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले ७० करोड १९ लाख ३६ हजार ६५४ रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती तथा कल निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभाग बालुवाटारले विभागबाट सञ्चालित विभिन्न आयोजनाहरुको कोषमा रहेको मौज्दात रकम लगानी गर्न लागेको हो ।

विभागले लगानी गर्न चाहेको रकम १ वर्षे मुद्दती निक्षेपमा ५६ करोड २७ लाख ५३ हजार ५३६ दशमलव ९५ पैसा र कल निक्षेपमा १३ करोड ९१ लख ८३ हजार ११८ दशमलव ८९ पैसा रहेको छ ।

विभागले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट तोकिएको सर्तहरुको अधिनमा रहेर आफूले निक्षेप लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर तोकि आवेदन गर्न आह्वान गरेको छ ।

यसरी बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरी उक्त फारमलाई पीडिएफ फरमेटमा स्क्यान गरी पासवर्ड प्रोटेक्ट गरी कुल लगानी योग्य रकम मध्ये लिन चाहेको रकम खोली यस विभागमा २०७९ जेठ १३ गते बेलुका ५ बजेभित्र प्राप्त हुने गरी व्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । उक्त पासवर्ड प्रोटेक्टेड फाइलको पासवर्ड जेठ १६ गते मध्यान्ह १२ बजेभित्र पठाउनुपर्ने जनाइएको छ ।

रकम लगानी गर्नका लागि केन्द्रीय बैंकले केही सर्तहरुसमेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएका र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने रहेको छ ।

यसैगरी कर्जा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आव।मा प्राभिजनपछि सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने उल्लेख छ ।

यस्तै शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनपर्ने, बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएको भए सो फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार  १३ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।