चीन भारत जोड्ने कोरला–त्रिवेणी सडकको सुरुङमार्ग निर्माणमा भारतसँग सहकार्य गर्न गण्डकी सरकार तयार

0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उत्तरमा चीनको नाकाबाट दक्षिणमा भारत जोड्ने कोरला–त्रिवेणी सडक निमार्णमा गण्डकी प्रदेश सरकार भारतसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्तामा मुख्यमन्त्री पोखरेलले दुम्कीवास–त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङमार्ग निर्माणमा प्रदेशले सङ्घ सरकार मार्फत भारतसँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

पोखरेल र कावा भारतीय राजदूतबीच भेटवार्तामा मुख्यमन्त्री पोखरेलले नेपाल–भारतबीचको सम्बन्धबारे कुनै व्याख्या गर्न जरुरी नभएको उल्लेख गर्दै प्रदेश र मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

भेटमा तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरिएको उल्लेख गरे ।

प्रदेशको रोजगारी प्रवद्र्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसअनुसारका संरचना निर्माण जरुरी रहेको उनले बताए ।

कार्यवाहक भारतीय राजदूत खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन् । प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाका बारेमा विस्तृत विवरण प्राप्त भएको खण्डमा थप काम गर्न सकिने उनको भनाइ थियो ।

नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र सङ्घसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने उनले प्रतिबद्धता व्यक्त गरिन् । भारतीय राजदूतावास मार्फत प्रदेशभर ५२ योजना सञ्चालन भएकामा कास्कीमा मात्र ११ वटा सञ्चालित छन् ।

कास्की र मुस्ताङमा भारतीय दूतावास मार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा खम्पा पोखरा आएकी हुन् ।
मुख्यमन्त्रीसँगको भेटमा प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल, कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ लगायतको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार  ०९ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।