
कारोबारको अन्तिम समयमा बिहीबार नेप्सेमा सुधार आएपनि कारोबार रकम भने घटेको छ । कारोबारको पौने घण्टापछि घट्न थालेको बजार सूचक एक बजेपछि विस्तारै सुधारिएको थियो ।
अन्तिम समयसम्म सूचक ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा बन्द भएको छ । ठूला कम्पनीहरुको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४३६.४७ बिन्दुमा पुगेको छ ।
बिहीबार कारोबार रकम ८८ करोड ९८ लाख रुपैयाँमा खुम्चिएको छ । यसदिन २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता सेयर १८ हजार ८०८ वटा संख्यामा खरीद बिक्री भएको हो । अघिल्लो दिनको तुलनामा १५ करोड बढीले कारोबार रकम घटेको हो । सेयर लगानीकर्ताहरु अझै एक दुई दिनको बजार ट्रेण्ड हेरेर बजेटपछि मात्र लगानी गर्ने मनस्थिति बनाएर बस्दा दैनिक कारोबार रकम घटेको हो ।
लामो समयदेखि वियरिस प्रवृत्तिमा रहँदै आएको नेप्सेमा सरकारको नीति तथा कार्यक्रम पश्चात पछिल्लो तीन दिनयता सुधार हुँदै आइरहेको छ । मंगलबारदेखि नेप्से लगातार तीन दिन बढेको हो ।
कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये पाँच वटा घटेको छ भने आठ वटा बढेको छ । आजको बजारमा मेगा बैंकको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य बढेर २२.५० रुपैयाँ बढेर २४७.५० रुपैयाँ पुगेको छ । नारायणी डेभलपमेन्ट बैंकको ६.२० प्रतिशत, कुमारी इक्वीटी फण्डको ५.२६ प्रतिशत र ग्रीन लाइफको सेयरमूल्य ४ प्रतिशतले बढेको छ ।
उता आजको कारोबारमा गुराँस लघुवित्तको सेयरधनीले सर्वाधिक ५.४७ प्रतिशतले गुमाएका छन् । सिंगटी हाइड्रोपावर, रुरु हाइड्रोपावर, माउन्टेन इनर्जीका लगानीकर्ताले ३ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

आज कारोबार रकमका अधारमा मेगा बैंक नै अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ४२ लाख १४ हजार रुपैयाँको सेयर खरीद बिक्री भएको छ । अरुण काबेली हाइड्रोपावरको ४ करोड ४ लाख, नबिल बैंकको ३ करोड ५७ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
अपर तामाकोशी, जाल्पा लघुवित्त, एशियन लाइफ, अरुण भ्याली हाइड्रोपावर, सूर्या लाइफ, एनआईसी एशिया बैंक, र नेपाल टेलिकम शीर्ष कारोबार हुने शीर्ष दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको टेलिकमको १ करोड ६३ लाखको सेयर कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया