आर्थिक सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगका निम्ति श्रीलङ्काका राष्ट्रपतिद्वारा आह्वान

0
Shares

देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार अन्तर्राष्ट्रिय समुदायलाई श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गरे ।

‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ । हामीलाई तुरुन्तै अन्तरराष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु,’ राजापाक्षेले २७ औं अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भने ।

जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेकाे डेली मिररले जनाएको छ ।

चरम आर्थिक समस्याका बीच श्रीलङ्काले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ ।

साथै गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पाकाउने इन्धन र ग्याँसको चरम अभावको सामना गर्नुपरेको छ ।

‘कोभिड-१९ बाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट र श्रीलङ्काको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय सङ्कट निम्त्याएको छ । ‘भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ । आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ,’ डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

राष्ट्रपतिले युक्रेन–रुस द्वन्द्वले कोभिड–१९ को महामारीपछि पीडित मुलुकमा सङ्कट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । उनले मुलुकमा देखिएको सङ्कटलाई समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनुपर्नेमा पनि विशेष जोड दिए ।

‘श्रीलङ्काले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड-१९ महामारीको प्रभावहरूको प्रारम्भिक सङ्केत हो । त्यस्तै युरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापीरूपमा पनि असर गर्न सक्छ ।’ उनले भने ।  राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गरेका छन् ‘

‘जापान श्रीलङ्काको प्रमुख विकास साझेदारहरू मध्ये एक हो र हामी आशा गर्छौं अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं,’ डेली मिररले राजापाक्षेलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलङ्काले स्वतन्त्रता पछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तरराष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ । अहिले अन्तरराष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।