वैदेशिक रोजगारबाट फर्केकालाई व्यवसायमा प्रोत्साहन गर्न ‘च्यालेन्ज फन्ड’ निमार्ण गरिने

0
Shares

सरकारले युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिबाट सञ्चालन हुने व्यवसायलाई प्रोत्साहन गर्न च्यालेञ्ज फण्ड स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेट विनियोजन गर्दै युवा उद्यमशिलता विकास गर्न र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसाय सुरुवात पूँजी उपलब्ध गराइने कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

यस्तै सरकारले उद्यमशिलता विकास गर्न र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसाय कार्यक्रमको प्रभाव मूल्याङ्कन गरी सुधार गर्दै लैजाने भएको छ । यस्ता परियोजनका आधारमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने तथा भेञ्चर क्यापिटल मार्फत पूँजी व्यवस्थापन गर्नुका साथै अध्ययन अनुसन्धानलाई प्रोत्साहित गरिने बजेटमा उल्लेख छ ।

यस्तै सरकारले निजी क्षेत्रको साझेदारीमा ज्ञानमा आधारित व्यवसाय विस्तारित गर्न हेटौडा औधोगिक क्षेत्रकासाथै सातै प्रदेशमा सरकारले विजनेश इन्कुभेशन सेन्टर सञ्चालन गर्ने जनाएको छ ।

निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल र मेड इन नेपाल जस्ता अभियानलाई नेपाल सरकारबाट समेत आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउने गरी उत्पादनमुलक उद्योग स्थापना गर्न पुर्वाधार निर्माण गर्नुका साथै मेसिनरी तथा औधोगिक कच्चा पदार्थको आयातमा सहुलियत प्रदान गरिने उल्लेख गरेको छ ।

यस्तै स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि तथा सेवा निर्यात गर्ने उद्यमीहरुलाई थप प्रोत्साहन उपलब्ध गराइने बजेट वक्तव्यमा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  १९ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।