बैंकिङ्ग क्षेत्रको कर्जा निक्षेप अनुपात ९०.११ प्रतिशतमा झर्‍यो

0
Shares

स्थानीय तह निर्वाचन र चालु आर्थिक वर्षको अन्ति त्रैमास समाप्त हुन साढे एक महिना मात्र बाँकी रहँदा बैंकहरुको कर्जा निक्षेप अनुपातमा पनि क्रमशः सुधार आउन थालेको छ ।

केन्द्रीय बैंकका अनुसार जेठ १६ गते सोमबार समग्र बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ९०.११ प्रतिशतमा झरेको हो । यसअघि बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ९२ प्रतिशतसम्म पुगेको थियो । त्यसमा पनि वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात विकास बैंक र वित्त कम्पनीहरुको भन्दा धेरै रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असारसम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा झारिसक्नुपर्ने व्यवस्था रहेको छ । पछिल्ला दिनमा थानीय तहको निर्वाचन र सरकारी खर्चमा आएको वृद्धिले केही निक्षेप थपिएको भएपनि वाणिज्य बैंकहरुले अझै पनि थप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा भने पुगिसकेको छैनन् । चालु आर्थिक वर्षको पछिल्ला महिनाहरुमा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा माथि भएपछि कर्जा लगानी नियन्त्रण गर्दै आएका छन् ।

चालु आवको ११ महिना अर्थात जेठ १३ गतेसम्ममा वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.४१ प्रतिशत रहेको नेपाल बैंकर्स संघले जनाएको छ । आर्थिक वर्षको अन्तिम समयमा बैंकहरुले कर्जा लगानी विस्तार गर्ने भन्दा पनि उठाउनमा केन्द्रीत हुन्छन् । त्यसैले पनि चालु आवको जेठ महिनाको दोस्रो सातामा बैंकहरुले ६ अर्ब निक्षेप संकलन गरेर ४ अर्ब कर्जा लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको जेठ १६ गतेसम्ममा वाणिज्य बैंकहरुले ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिमा बैंकहरुले ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन । यस्तै जेठ १६ गतेसम्ममा विकास बैंक र फाइनान्स कम्पनीहरुमा ५ खर्ब ७९ अर्ब र कर्जा लगानी ५ खर्ब ३१ ऋर्ब रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा प्रणालीमा कुल ४९ खर्ब ६२ अर्बको निक्षेप रहेको छ भने ४७ खर्ब २१ अर्ब रुपैयाँ कुल कर्जा लगानी रहेको छ । जेठ १३ गते शुक्रबारको तुलनामा जेठ १६ गते सोमबार निक्षेप १ अर्ब र कर्जा लगानी २ अर्बले घटेको छ । यस अवधिमा सीडी रेसियो ९०.११ प्रतिशतमा सुधारिएको छ ।

केन्द्रीय बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर औषत ६.९९ प्रतिशत, २८ दिने निक्षेप संकलन दर ८.१८ प्रतिशत, ९१ दिने निक्षेप संकलन दर ९.३४ प्रतिशत, १८२ दिने औषत निक्षेप संकलनदर १०.१३ प्रतिशत र ३६४ दिन निक्षेप संकलन दर १०.१२ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।