
बैंकिङ प्रणालीको निक्षेपमा सुधार हुन थालेपछि घट्न थालेको स्थायी तरलता सुविधा (एसएलएफ) को उपयोग मंगलबार भने बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले जेठ १७ गते मंगलबार भने एकै पटक ८६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लिएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३६ पटक गरेर ८६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ स्थायी तरलता सुविधा एसएलएफ प्रदान गरेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले आइतबार र सोमबार भने ४० अर्ब हाराहारीमा एसएलएफ उपयोग गरेका थिए । बैंकहरुले १६ गते सोमबार ४१ अर्ब ८७ करोड र १३ गते शुक्रबार ४१ अर्ब ६० करोड रुपैयाँ मात्र एसएलएफ प्रयोग गरेका थिए । जेठ १० गते ७८ अर्ब एसएलएफ उपयोग गरेका बैंक तथा वित्तीय संस्थाहरुले त्यसपछि एसएलएफ उपयोग घटाएका थिए । तर मंगलबार उच्च रुपमा बढेको छ ।
बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्रमा गरेको कुल लगानीको ९० प्रतिशतसम्म राष्ट्र बैंकबाट एसएलएफ सुविधा लिन पाउँछन् । एसएलएफ बढीमा एक साताका लागि मात्र पाइने सापटी हो । तर आफ्नो सीमा पूरा नहुँदासम्म हरेक साता एसएलएफ नवीकरण गर्न पाइन्छ । यसकारण ९० प्रतिशत सीमा नपुगेका बैंकहरूले हरेक साता एसएलएफ नवीकरण गर्दै आएका छन् । ब्याजदर पनि ७ प्रतिशत मात्र तिरे पुग्ने र हरेक साता नवीकरण गर्न पाइने भएपछि स्रोत अभावका कारण बैंकहरूले अल्पकालीन सापटीको भरमा दीर्घकालका लागि कर्जा प्रवाह गरिरहेका छन् ।
बैंकिंङ प्रणालीमा तरलता रकम अभाव देखिएपछि चालु आर्थिक वर्ष २०७८।७९ को जेठ १७ गतेसम्ममा बैंकहरुले ७५ खर्ब ६५ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन । बैंकहरुले ३ हजार ९७६ पटकमा यो रकम उठाएका हुन् ।
चालु आवको जेठ १६ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४९ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रेहको छ भने वाणिज्य बैंकहरुमा ४३ खर्ब ८३ अर्ब रुपैयाँ र विकास बैंक र वित्त कम्पनीमा ५ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४१ खर्ब ९१ अर्ब कर्जा लगानी भएको छ । यस अवधिमा कुल कर्जा लगानी वाणिज्य बैंकहरुले ४१ खर्ब ९१ अर्ब छ भने विकास बैंक र वित्त कम्पनीमा ५ खर्ब ३१ अर्ब कर्जा लगानी गरेका छन् ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अहिले पनि बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत माथि छ । राष्ट्र बैंकका अनुसार यस्तो अनुपात औषतमा ९०.११ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया