बिस्कुट उत्पादक संघद्धारा बजेटको स्वागत, बिस्कुट उद्योगमा १० अर्ब लगानी

0
Shares

नेपाल बिस्कुट उत्पादक सङ्घले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेट सकारात्मक रहेको जनाएकोे छ । स्वदेशी उद्योगको उत्थानका लागि सरकारले गरेको सकारात्मक निर्णयले बिस्कुट उद्योगी आशावादी रहेको सङ्घले जनाएको हो ।

सङ्घका महासचिव विक्रम कर्माचार्यले बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल र पामोलिनलगायतका कच्चा पदार्थको उत्पादन नेपालमा नहुँदा आयात गर्नुपर्ने बाध्यता रहेको बताए ।

बजेटमा बिस्कुट उद्योगले आयात गर्दै आएको कच्चा पदार्थ आयातमा पाँच प्रतिशत भन्सार महसुल र विदेशबाट बिस्कुट आयात गर्दा अन्तशुल्क १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको छ, “यो व्यवस्थाले स्वदेशी बिस्कुट उद्योगको संरक्षण गर्नुपर्छ भनी सकारात्मक सन्देश पाएका छौँ”, उनले भने।

उनले सरकारको उक्त निर्णयले स्वदेशी उद्योगले आफ्नो उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न सक्ने वातावरण बन्न सक्ने आशा व्यक्त गरे।

सङ्घले करिब आठ वर्ष अगाडि नेपालमा सञ्चालित अवस्थामा रहेका ३५ बिस्कुट उद्योगमध्ये हाल १८ मात्र सञ्चालित अवस्थामा रहेको जनाएको छ । आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसक्दा बिस्कुट उद्योग बन्द भएको जनाइएको छ । सङ्घका अनुसार बिस्कुट उद्योगमा मात्रै १० अर्बभन्दा बढीको लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।