
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सेयर बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । बजेट पछिका चार कारोबार दिनमा नेप्से सूचक १११ अंकले ओरालो लागेको छ ।
सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्ष ०७९/०८० को लागि झण्डै १८ खर्ब बराबरको बजेट सार्वजनिक गरेको थियो ।
बजेट सार्वजनिक हुनु अघिको साताको पाँच कारोबार दिनमा ३ दिन बढेको सेयर बजार बजेट सार्वजनिक भएपछि भने निरन्तर ओरालो लागेको छ । बजेटले सेयर बजारका विद्यमान समस्या सम्बोधन गर्ने विश्वासले अघिल्लो साता बजार बढेपनि लगानीकर्ताको अपेक्षा अनुसार बजेट नआएपछि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको हो । 
बजेट सार्वजनिक भएको भोलिपल्ट अर्थात जेठ १६ गते सोमबार सेयर बजार ५० अंक बढीले ओरालो लागेको थियो । जेठ १७ गते मंगलबार ३५.५२ अंकले घटेको बजार १८ गते बुधबार ७.१९ अंकले ओरालो लाग्यो । जेठ १९ गते बिहीबार पनि नेप्से १८.२६ अंकले ओरालो लागेको छ ।
बजेटपछिका चार कारोबार दिनमा मात्रै नेप्से सूचक १११ अंकले ओरालो लागेको छ । बजेट सार्वजनिक भएपछि सेयर लगानीकर्ताहरुको मिश्रित धारणा आएको थियो । अर्थमन्त्री जनार्दन शर्माले बजेट सेयरबजारमैत्री भएको दाबी गर्दै आए पनि नेप्सेको गिरावट थामिन सकेको छैन । तरलताको अवस्था सहज नभएको र बैंक ब्याजदर अझै बढ्ने संकेतले लगानीकर्ताको मनोबल उकासिन सकेको छैन ।
बजेट मार्फत पूँजीगत लाभकर घट्ने अपेक्षा लगानीकर्ताले राखेका थिए । यस बिषयमा बजेटले केहि सम्बोधन नगरेपछि लगानीकर्ताको निराशा सेयर बजारमा देखिएको छ । लगानीकर्ताले मौद्रिक नीतिमार्फत ४/१२ को सीमा हट्ने अपेक्षा राखेका छन । तर, यो व्यवस्था यथावत रहने संकेतले पनि उनीहरु झनै निरुत्साहित हुन पुगेका छन । यस्तै आगामी मौद्रिक नीतिले सेयर धितो कर्जा खुकुलो हुने लगानीकर्ताको आशा भएपनि त्यस्तो नहुने बुझिन्छ ।
बजार घटेपछि तनावमा अर्थमन्त्री
बजेट पछि सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्मा केही तनाव देखिएका छन् । उनले पूँजी बजार सुधारका लागि निक्कै महत्वपूर्ण विषय बजेटमा समावेश गरिएको भएपनि आमलगानीकर्ताले त्यसको नजरअन्दाज गरेको बताएका छन् ।
उनले राजधानीमा आयोजित बजेट समीक्षा कार्यक्रममा बजेटको बुँदा नम्बर ३३२ पढ्न र पूँजीबजारका विषयमा धारणा बनाउन आग्रह सार्वजनिक रुपमै आग्रह गरेका छन् ।
धितोपत्र बजारका सन्दर्भमा बजेट
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाइने उल्लेख छ । पूँजी बजारको विस्तार र विविधिकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हक हीत संरक्षण गरिने बजेट वक्तव्यमा छ ।
यस्तै धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाइने, वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था गरिने भनिएको छ ।
साथै वस्तु विनिमय बजार र यसका पूर्वाधारहरू सञ्चालनमा ल्याइने, संस्थागत तथा सरकारी ऋणपत्रहरूको दोस्रो बजार कारोवारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गरिने उल्लेख छ । उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिई सहजीकरण गरिने भएको छ ।
एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पूँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोवार गर्ने कम्पनी, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरिने घोषणा बजेटले गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया