
नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल सञ्चालन अनुमति दिने प्रक्रिया सुरु गरेको छ । के कस्ता कम्पनीलाई विशिष्टिकृत लगानी योजना सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल समेत गरेको हो ।
स्थानीय तहको निर्वाचन सकिए लगत्तै पीइभिसिको अनुमति दिने विषयमा काम अघि बढाउने बताएका बोर्डका अध्यक्ष रमेश हमालले पहिलो चरणमा मर्चेन्ट बैंकरसँग छलफल गरेका हुन् । उनले मर्चेन्ट बैंकसँग छलफल गर्ने क्रममा पीइभिसी सञ्चालन प्रक्रिया अघि बढेको बताउँदै उनले भने,“कस्ले के गर्ने भन्ने स्पष्ट हुनु पर्यो भन्ने विषय हो ।” धितोपत्र बोर्डले सेयर बजारलाई स्वच्छ बनाउन खोजेको भन्ने विषयमा मर्चेन्ट बैंकरहरु पनि स्पष्ट रहेको हमालले बताए ।
पीइभिसीलाई व्यवस्थित रुपमा अघि बढाउन हालको निर्देशिकालाई समेत संशोधन गरेर अघि जाने भन्ने तयारी गरेको बताउँदै हमालले भने, “मर्चेन्ट बैंकहरुलाई पनि सोही अनुसार आउने भनेर भनेका छौं । यसमा मर्चेन्ट बैंकरहरु पनि सकारात्मक छन् ।” सहायक कम्पनी मार्फत नै जाने वा अहिलेकै कम्पनीबाट जाने भन्ने विषयमा निर्णय भई नसकेको भएपनि त्यसका पनि सहजीकरण गरेर जाने भन्ने बुझाई बनेको समेत उनले बताए । सहायक कम्पनी वा मर्चेन्ट बैंक मार्फत नै गर्ने भन्ने सन्दर्भमा समयमा अनुसार निर्णय गर्दै जान उनले बताए । “प्रयाप्त छलफल गरेर सबैलाई समेटेर अघि जानुपर्ने हुन्छ,” हमालले भने ।
छलफलमा सहभागी मर्चेन्ट बैंकरहरुले पीइभिसीको विषयमा लिखित रुपमा नै सुझाव दिएका छन् । सैद्धान्तिक सहमति दिइसकेपछि मर्चेन्ट बैंकरलाई रोक्न नमिल्ने बताउँदै छलफलमा सहभागि एक मर्चेन्ट बैंकरले भने, “आबको मर्चेन्ट बैंक पनि हिजो बैंकहरुको एउटा शाखाको रुपमा थिए, आज सहायक कम्पनी भएका छन्, सोही अनुरुपमा समय अनुसार छुट्याउँदै गएका हुन्छ भन्ने सुझाएका छाैं ।”
छलफलमा मर्चेन्ट बैंकर बाहेकका संस्थालाई पीइभिसि सञ्चालन गर्न दिने सन्दर्भमा पनि अघि बढाउने विषय उठेको छ । मर्चेन्ट बैंकरको विषयमा आएको दुविधा स्पष्ट नहुँदासम्म छलफल गर्ने भएपनि मर्चेन्ट बैंकर बाहेकका संस्थाको सन्दर्भमा प्रक्रिया नै अघि बढाउन समेत मर्चेन्ट बैंकले बोर्डलाई सुझाएका छन् ।
बोर्डले पछिल्लो समयमा धितोपत्र बजारका लागि मात्र नभई देश विकासका लागि उद्यमशीता प्रवर्द्धन गर्न प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको सुरुवात गर्ने भन्दै विशिष्टिकृत लगानी कोष नियमावली २०७५ ल्यायो । सो नियमावलीको आधारमा प्राइभेट इक्वीटी (पिई) र भेञ्चर क्यापिटल (भीसी) को काम सुरु गर्न मर्चेन्ट बैंकर लगायतका अन्य संस्थाहरुले पनि प्रक्रिया अघि बढाएका छन् ।
सैद्धान्तिक सहमति पाएका अधिकांश मर्चेन्ट बैंकरहरु रहेको हुनाले उनीहरुसँग बोर्डले छलफल गरेको हो । प्राईभेट इक्वीटी, भेन्चर क्यापिटल फण्डको छोटो रुप पीइभीसी हो । भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाति कम्पनीहरुमा संयुक्त पूँजी लगानी गर्छ । यसको विशिष्टता भने सुरुवाती स–साना कम्पनीहरुमा इक्वीटी र ऋणको लगानी गर्नु हो । आज लगानी गर्ने, व्यवस्थापन सम्हाल्ने, आम्दानी र मुनाफा बढाउने, अनि कम्पनी नै बिक्री गरेर मुनाफा कमाउने काम भेन्चर क्यापिटलले गर्छ ।
त्यसैगरी प्राइभेट इक्वीटीले पब्लिकमा रहेको कम्पनीको पूरै इक्वीटी खरिद गरेर प्राइभेटमा परिणत गर्छ । यसले विविध क्षेत्रमा लगानी गर्छ तर प्राथमिक रुपमा भने पब्लिक वा निजी कम्पनीहरुको सम्पूर्ण वा बहुमत सेयर किनेर प्राइभेट बनाउने काम गर्छ । भर्खरै स्थापना भएका कम्पनीहरु जसको भोलि ठूलो व्यवसाय हुने सम्भावना र सञ्चालनमा रहेका तर व्यवस्थापनको समस्या कारण प्रतिफल दिन नसकिरहेको कम्पनीहरुमा लगानी गर्छ । समस्याग्रस्त कम्पनी सस्तोमा खरिद गर्ने, व्यवस्थापनमा सुधार गर्ने र आम्दानी/मुनाफा बढाएर बिक्री गर्ने काम प्राइभेट इक्वीटीले गर्छ । प्राइभेट इक्वीटीले एकै पटकमा एक वा धेरै कोष व्यवस्थापन गर्न सक्छ । प्राइभेट इक्वीटीको लगानी लामो समयको लागि हुन्छ ।
वैकल्पिक लगानी कोषको महत्वलाई पनि बुझ्न जरुरी हुन्छ । उद्योग धन्दाको विकास र विस्तार गर्ने प्रयाप्त सम्भावना हुँदाहुँदै पनि फस्टाउन नसक्ने हुन्छ । प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले विशेष गरी यस्ता क्षेत्रको विस्तृत अध्ययन, जोखिम मुल्याङ्कन तथा व्यवसायको भविष्यका सम्बन्धमा उचित विश्लेषण गरी लगानी गर्ने हुँदा औधोगिकिकरणमा नवप्रवर्तन बढाउनका लागि महत्वपूर्ण योगदान गर्छ ।
त्यसैगरी साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवर्द्धनमा समेत पीइभीसिको योगदान हुन्छ । साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवद्र्धनका लागि कर्जा लगानी मात्र नभई पूँजी लगानी गरी व्यवसायको सञ्चालन तथा विस्तारमा प्राविधिक सहयोग गर्नुपर्ने हुन्छ । प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले यस्ता उद्योगहरुमा आवश्यकता बमोजिम पूँजी लगानी गर्ने, यिनीहरुको विस्तारको सम्भावना हेरि आवश्यकता अनुसार प्राविधिक रुपले सहयोग गर्ने, सञ्चालन तथा वित्तीय सुशासन सुनिश्चित गर्ने लगायतका काम गर्छ ।
ठूला ठूला उत्पादन मुलक उद्योगहरुमा पूँजी लगानी गरी सुशासन कायम गर्ने तथा धितोपत्र बजारमा सूचीकरण गराउनमा समेत पीइभीसिको महत्वपुर्ण योगदान हुन्छ । प्राईभेट इक्वीटी फण्डहरुले ठूला ठूला उद्योगहरुमा आवश्यक इक्वीटी लगानी गर्ने गर्दछन् । प्राईभेट इक्वीटी फण्डहरुले यसरी इक्वीटी लगानी गरिसकेपछि यस्ता उद्योगहरुमा वित्तीय तथा सञ्चालन सुशासन कायम गराउँछन् ।
साथै कोषले निश्चित समयपछि लगानी झिक्नुपर्ने हुँदा धितोपत्र बजारमा सूचीकरण गराउन प्रेरित गर्दछन् । त्यसैले प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले देशको आर्थिक विकासमा ठूलो भमिका खेल्न सक्दछन् । विशेष गरी व्यवसायिक घरानाहरुको कब्जामा रहेका उद्योग व्यवसायमा समेत लगानी गरी सूचीकरण मार्फत सर्वसाधारणसम्म पुर्याउने काम समेत पीडीभीसिले गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया