वार्षिक दश करोडको वस्तु तथा सेवाको कारोबार गर्ने कम्पनीमा विद्युतीय बिल अनिवार्य

0
Shares

चालु आर्थिक वर्ष वा गत आर्थिक वर्षमा १० करोड रुपैयाँ भन्दा धेरैको वस्तु तथा सेवाको कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा विद्युतीय बिल जारी गर्नुपर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत करदाताको संख्या विस्तार गर्दे विद्युतीय बीजक अनिवार्य गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै एक आवको कारोबार रकम १० करोड रुपैयाँ भन्दा बढी जुनसुकै बस्तु तथा सेवाको कारोबार गरेका संस्थाहरुका लागि विद्युतीय बीजक अनिवार्य जारी गर्नु पर्नेछ । सरकारले गरेको यो व्यवस्था अनुसार ग्राहकलाई प्रत्यक्ष रुपमा विजक जारी नगर्ने बैंक तथा वित्तीय संस्था जस्ता निकायको कारोबारको हकमा लागू नहुने जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट मार्फत भएको परिवर्तन आर्थिक विधेयकमा गरिएका परिवर्तनलाई सहजीकरण गर्दै आन्तरिक राजस्व विभागले सो व्यवस्था बक्स अफिस प्रणालीमा आवद्ध भएका सम्पूर्ण सिनेमा हलहरुलाई समेत अनिवार्य गरिएको जनाएको छ । यसभन्दा अघि काठमाडौ उपत्यका भित्रका सिनेमा हलका लागि मात्र लागु गरिएकोमा आगामी आर्थिक वर्ष देखि देशभरका सिनेमा हलहरुमा पनि लागू गरीएको हो ।

चालु आर्थिक वर्षसम्मको हकमा भने वार्षिक ५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार गर्ने होटल, रेष्टुरेन्ट तथा चमेना गृह र इन्टरनेट सेवा प्रदायकको कारोबार गरेका करदातहरुले अनिवार्य विद्युतीय बीजकको प्रयोग गर्नुपर्ने व्यवस्था छ । यसलाई आगामी आवमा पनि निरन्तरता दिएको विभागले जनाएको छ ।

त्यसैगरी वार्षिक १० करोड भन्दा धेरैको कारोबार गरेका डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ तथा फर्निसिङको कारोबार गरेका करदाहातहरुले अनिवार्य विद्युतीय बीजकको प्रयोग गर्नुपर्छ । यो व्यवस्थालाई पनि आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । चालु आवमा बक्स अफिस प्रणालीमा आवद्ध काठमाडौं उपत्यका भित्रको सिनेमा हलहरुको हकमा मात्र लागू भएको थियो ।

विभागका अनुसार अनिवार्य गरीएका कम्पनी तथा संस्था बाहेक जुनसुकै करदाताले अनुमति लिइ स्वेच्छिक रुपमा विद्युतीय विजक जारी गर्न सक्ने जनाएको छ । तर, यसभन्दा अघि अनुमती लिइ विद्युतीय विजक जारी गरिरहेका करदाताहरुले पुनः अनुमती लिन नपर्ने समेत विभागले जानाएको छ । विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यक्तिले विभागमा सुचीकरण गरिएका विद्युतीय उपकरण तथा सफटवेयरहरु मात्र प्रयोग गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १६ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।