बैंकहरुमा ७ अर्ब निक्षेप थपिँदा २ अर्ब कर्जा घट्यो, औसत कर्जा निक्षेप अनुपात ९०.३२ प्रतिशत

0
Shares

चालु आर्थिक वर्षको जेठ महिनाको तेस्रो सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरुमा निक्षेप थपिए पनि कर्जा भने २ अर्बले घटेको हो ।

सरकारले बैशाख ३० गते सम्पन्न गरेको स्थानिय तहको निर्वाचनपछि बैंकिङ प्रणालीमा निक्षेप थपिन थालेको हो । जेठ महिनामा मात्र बैंकहरुको २० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल बैंकर्स संघले जनाएको छ ।

बैंकहरुको निक्षेप थपिने तथा कर्जा घट्न थालेपछि कर्जा निक्षेप अनुपात पनि नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक आइपुगेको छ । जेठ २० गतेसम्ममा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ९०.३२ प्रतिशत रहेको संघले जनाएको छ।

केन्द्रीय बैंकका अनुसार जेठ १६ गते सोमबार समग्र बैंकिङ्ग क्षेत्रको औषत कर्जा निक्षेप अनुपात ९०.११ प्रतिशतमा झरेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असारसम्ममा बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतमा झारिसक्नुपर्ने व्यवस्था रहेको छ ।

आर्थिक वर्षको अन्तिम समयमा बैंकहरुले कर्जा लगानी विस्तार गर्ने भन्दा पनि उठाउनमा केन्द्रीत हुन्छन् । चालु आर्थिक वर्षको जेठ २० गतेसम्ममा वाणिज्य बैंकहरुले ४३ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । सो अवधिमा बैंकहरुले ४१ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।