भिक्ट्री लाउन्जबारमा लागेको आगो २ घण्टा पश्चात निभाइयो

0
Shares

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।

विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका थिए। आगो निभाउन काठमाडौँ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

आगलागी भएको भवनको छैटौँ तल्लामा उक्त लाउन्जबार सञ्चालनमा थियो। लाउन्जमा आगोको ज्वाला उठेपछि दरबारमार्ग क्षेत्रमा सन्त्रास छाएको थियो। अग्नि नियन्त्रण र सुरक्षाकर्मीको प्रभावकारी प्रयासले आगो फैलिन नपाएका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वरिष्ठ उपरीक्षक सुवेदीले बताए।

आगो निभाउन पानी ओसार्न उपत्यकाका ठूलो संङ्ख्यामा खानेपानीका टयाङ्करको प्रयोग गरिएको थियो। आगो निभाउने क्रममा एक अग्नि नियन्त्रक समेत घाइते भएको प्रहरीले जनाएको छ। आगलागीबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।