
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गरेका छन् ।
स्वीजरल्याण्डको जेनेभामा जेठ १३ गतेदेखि सञ्चालन भईरहेको अन्र्तराष्ट्रिय श्रम सम्मेलनको ११० औं अधिवेशनलाई नेपालको रोजगारदाताको तर्फबाट उनले सम्बोधन गरेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै रोजगारदाता परिषद्का सभापति संघईले कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रम बजार, सामाजिक–आर्थिक क्षेत्रमा छिटोछिटो भईरहेको परिवर्तनका कारण अतिकम विकसित मुलुकलाई शताव्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए । यसमा ठूला र सम्पन्न राष्ट्रहरूले साना राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रहरू बीचको बढ्दो अन्तरनिर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्वनै प्रभावित हुने तथ्य उल्लेख गर्दै सभापति संघईले खाद्यान्न तथा ईन्धनको सन्निकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण गराएका छन् ।
साथै उनले उक्त समस्या समाधानमा विश्व एकजुट हुनुुपर्नेमा जोड दिँदै यस्ता समस्याबाट विशेषगरी साना राष्ट्रहरू बढी प्रभावित हुनेमा चिन्ता व्यक्त गरे । स्थिरता र आपसी सहयोगको माध्यमबाट नै चूनौतीको सामना गर्न सकिने कुरामा जोड दिँदै परिषद्का सभापति संघईले साझा हितका लागि सहकार्य गर्न विश्व समूदायलाई आग्रह गरे ।
कोभिड विरुद्धको खोपबाट संक्रमण निकै घटन गएको भएपनि यो पुरै निर्मुल भई नसकेकाले सर्तक रहनु पर्नेमा जोड दिए । उपाध्यक्ष संघईले कार्यशैली र कार्य वातावरणमा पछिल्लो पटक निकै धेरै परिवर्तन भैसकेकाले नयाँ वातावरणमा काम गर्न स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र कार्य स्थल सुधारको आवश्यकता औल्याए ।
कोभिड महामारीबाट भएको नोक्सानीको क्षतिपूर्ति एवं पुनरूत्थानतर्फ प्रयत्नशिल रहेको अवस्थामा उच्च व्यापार घाटा, नकारात्मक शोधानान्तर स्थिति, न्यून लगानी एवं तरलता अभाव लगायतबाट नेपाली उद्योग व्यवसाय प्रभावित हुन पुुगेको उनले जानकारी गराए ।
श्रम बजारको स्वरुपमा भईरहेको परिवर्तनले नयाँ सीपयुक्त जनशक्तिको माग बढीरहेको उनको भनाई थियो । काम गर्ने वातावरण र जनशक्तिको समायोजन गर्नुपर्ने आवश्यकताका साथै सूचना प्रविधिको बढदो प्रयोग र डिजिटल माध्यमबाट हुने कामले श्रम सम्बन्धमा परिवर्तन भईरहेको दाबी उनको थियो ।
विभिन्न चुनौति र समस्याका बाबजुद नेपालको निजी क्षेत्र आर्थिक वृद्धितर्फ उन्मूख रहेको उनले विश्व समुदाय समक्ष बताए । साना तथा मझौला उद्योगको प्रवद्र्धन, सामाजिक सुरक्षा, काम गर्ने वातावरणको सुधार, कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारको निवारण एवं केन्द्रदेखि प्रतिष्ठानस्तरसम्म सामाजिक संवादको प्रवद्र्धन लगायतका कार्यक्रमलाई प्राथमिकता राखी काम गरिरहेको उनले बताए ।
अन्तर्राष्ट्रिय श्रम संगठनले निर्वाह गरिरहेको भूमिकाको सराहना गर्दै उपाध्यक्ष संघईले अन्तर्राष्ट्रिय श्रम संगठनको नयां रणनीति सहित काम गर्ने र यसबाट सदस्य मुलुकले भोगीरहेका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरे । साथै सम्पूर्ण विश्वले बहुआयामिक चूनौतीको सामना गर्नु परिरहेको सन्दर्भ उल्लेख गर्दै उनले अधिवेशनमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।











प्रतिक्रिया