मर्स्याङ्दी जलविद्युत् आयोजना प्रभावितले मागे मुआब्जा


तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको कटानबाट प्रभावित स्थानीयवासीले मुआब्जा माग गरेका छन् । आयोजनाको ड्यामले कटानको जोखिममा पर्दै गएका स्थानीयवासीले आयोजनासँग मुआब्जा माग गरेका हुन् ।

आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले जोखिममा परेका ठाउँका जग्गा अधिग्रहण गरी क्षतिपूर्ति दिन माग गरेका छन् । स्थानीवासीले मर्स्याङ्दी जल उत्पन्न प्रकोप नियन्त्रण कार्य सम्पादन समिति गठन गरी केही दिनदेखि आन्दोलन गरिरहेका छन् । स्थानीयवासीले आयोजनाको कार्यालयमा धर्ना दिएको समितिका संयोजक विष्णु पराजुलीले जानकारी दिए ।

आँबुखैरेनी–२ मा रहेको जलविद्युत् आयोजनाले निर्माण गरेको जलाशयगृह आसपास रहेका स्थानीय जग्गाधनीको घडेरी बर्सेनि कटान हुने क्रम जारी रहेकाले उक्त जग्गाको उचित मूल्य निर्धारण गरी मुआब्जा रकम उपलब्ध गराउन माग गरिएको पराजुलीले बताए । भविष्यमा मानवीय क्षतिसमेत बेहोर्नुपर्ने सम्भावनालाई मध्यनजर गरी उक्त जग्गाको उचित क्षतिपूर्ति माग गरिएको उनको भनाई छ ।

यसअघि पनि पटक–पटक सङ्घर्ष समितिबाट सम्बन्धित निकायमा निवेदन दिँदा पनि कुनै किसिमको पहलकदमी नभएको पराजुलीले बताए । “हाम्रो माग पूरा नभए कार्यालयबाट निर्माण गरिने कुनै पनि किसिमको तटबन्धनसम्बन्धी कार्य र जलविद्युत् गृहबाट उत्पादन हुने विद्युत् उत्पादन कार्य रोक्का गर्छौँ”, उनले भने ।

६९ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाको बाँधले यहाँका १४ घर उच्च जोखिममा परेका छन् । स्थानीयवासीले उक्त मागको बारेमा आँबुखैरेनी गाउँपालिका, जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।