ट्रेजरी बिल के हो ? किन जारी गरिन्छ ?

0
Shares

सरकारले बढीमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउने प्रयोजनका प्रयोग गरिने ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ ।

ट्रेजरी बिल विशेष गरी २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार अवधिको निष्कासन गरिन्छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा छैन । यी विभिन्न अवधिका ट्रेजरी बिल आवश्यकता अनुसार निष्कासन गरिन्छ । बोलकबोलमा बहुबोल मूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।

बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा नै गर्नुपर्छ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोल गर्न सक्ने व्यवस्था हुन्छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा बट्टादर (डिस्काउन्ट रेट) बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ ।

ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनुपर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ ।

नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ ।

ट्रेजरी बिल भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।