बैंकिङ्ग क्षेत्रमा मर्जर लहर चलेपछि वाणिज्य बैंकहरुको कारोबार बढ्न थाल्यो, नेप्सेमा दोहोरो अंकको गिरावट कायमै

0
Shares

नेपाल राष्ट्र बैंकले असार मसान्तपछि मर्जर तथा प्राप्तीमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वापत दिँदै आएकाे कर छुट लगायतको सुविधा नदिने घोषणा गरेपछि पछिल्लो समय वाणिज्य बैंकहरु एक आपसमा मर्जर तथा प्राप्ती प्रकृयाका लागि तातेका छन् ।

शुक्रबार मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जर सम्पन्न गरेका छन् भने नबिल बैंक र नेपाल बंगलादेश बैंकले विशेष साधारण सभाबाट मर्जर पस्ताव पारित गरेर अन्तिम स्वीकृतिका लागि अगाडि बढेको अवस्था छ ।

इन्भेष्टमेन्ट बैंकले जोडि खोजेपछि यतिबेला मर्जर भाँडिएको अर्को हिमालयन बैंक पनि मर्जर तथा प्राप्तीका लागि प्रकृयामा विभिन्न बैंकहरुसँग कुराकानी अगाडि बढाएको छ । एकपछि अर्को गर्दै मर्जर प्रकृयामा अगािड बढेपछि जनता बैंक गाभेर पूँजीका आधारमा ठूलो बनेको ग्लोबल आईएमई बैंक पनि मर्जर जोडिको खोजीमा रहेको छ । माछापुच्छ्रे, कुमारी, सेञ्चुरी, प्रभु, सिभिल, एनसीसी, बैंक अफ काठमाण्डू लगायतका बैंकहरुले यसअपघि नै मर्जरमा जाने प्रकृयाको सुरुवात गरिसकेको भएपनि सहमतिकै चरणमा भने पुगन सकेको छैन ।

शुक्रबार इन्भेष्टमेन्ट र मेगा बैंक गाभिएर चुक्ता पूँजीका आधारमा देशकै ठूला बैंक भनेको त्यसको असरले सोमबारको बजारमा साना तथा मझौला वाणिज्य बैंकको सेयरमूल्य बढेको छ । सोमबार सानिमा, सिभिल, बैंक अफ काठमाण्डू, सेञ्चुरी, एनआईसी एशिया, र नबिल बैंक शीर्ष दश ठूलो कारोबार हुने कम्पनीभित्र समेटिएका छन् । सेयर बजार घट्न थालेपछि चुक्ता पूँजीका आधारमा वाणिज्य बैंकहरुको पूँजी र सेयर संख्या धेरै भएपनि पछिल्ला दिनहरुमा एकाघ दिनहरुमा भन्दा बाहेक वाणिज्य बैंकमात्रै दैनिक कारोबार हुने शीर्ष दश कम्पनीमा समेटिने गरेको थिएन । सोमबार दशमध्ये ६ वाणिज्य बैंक समेटिनुले दैनिक कारोबार रकममा मर्जरको प्रभाव परेको बुझ्न सकिन्छ ।

सोमबार पनि सेयर बजार भने ओरालो लागेको छ । सरकारको पुँजी बजारसम्बन्धी गलत नीतिका कारण करिब १० महिनायता नेप्से वियरिस प्रवृत्तिमा रहेको छ । उता ५२ लाख सेयर लगानीकर्ताले आन्दोलनबाट ठोस उपलब्धि हाँसिल नगरेसम्म मैदान नछाड्ने बताउँदै आएका छन् । सडक आन्दोलनमा होमिएका लगानीकर्ताले सोमबार जिल्ला प्रसाशन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । सोमबारदेखि उपत्यका बाहिरका जिल्लाहरुमा पनि आन्दोलन थालिएको छ । लगानीकर्ता आन्दोलनमा रहेकाले पनि बजारमा नवप्रवेशीले सेयर खरीद गर्न आँट गर्न सकिरहेका छैनन् । बजारमा खरीदभन्दा बिक्री चाप हाबी छ । जसले बजारलाई तल आराल्न मदत्त पुर्याइरहेको छ ।

कम्पनी छनौटमा ध्यान दिनसके घट्दो बजारबाटै लिन सकिन्छ फाईदा, कसरी छनौट गर्ने कम्पनी ?

नियामक निकायले सुधारका अग्रसरता नलिँदा अहिले लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । जसले सूचक र कारोबार दुबै घट्दो क्रममा रहेका छन् । नेप्से सूचक झन्डै १२ सय अंकले घटेको भएपनि थप घट्नसक्ने भयका कारण बजारमा प्रवेश गर्न चाहने खरिदकर्ता पर्ख र हेरको रणनीतिमा रहेका छन् । 

यस दिन नेप्से सूचक १५.८२ अंकले घट्दै २०३२.३४ बिन्दुमा कारोबार बन्द भएको छ । २३० कम्पनीका २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खरीद बिक्री भएका छन् । 

आज बलेफी हाइड्रोपावर र ग्रीन भेञ्चर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य बढेर बलेफी हाइड्रोपावरको २९८.३० रुपैयाँ र ग्रीन भेञ्चरको ३२०.७० रुपैयाँ पुगेको छ । युनिलिभर नेपाल लिमिटेड र आधिँखोला लघुवित्तको सेयरमूल्य ४ प्रतिशत तथा तेह्रथुम पावरको सेयरमूल्य ३.८१ प्रतिशतले बढेको छ ।

उता मानुषी लघुवित्तको सबैभन्दा धेरै ५.४० प्रतिशतले सेयरमूल्य घटेको छ । यस्तै एनएमबि ५० को इकाईमूल्य ५.२८, ओरियन्टल होटल ५.२०, बुद्धभुमी नेपाल हाइड्रोपावर ५.०६ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ४.५१ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारमा आएका सबै उपसमूहगत सूचक तल झरेका छन् । होटल, फाइनान्स, निर्जीवन बीमा, उत्पादनमुलक, जीवन बीमा र लगानी सूचक १ प्रतिशतभन्दा अधिकले घटेका छन् ।

सानिमा बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । बैंकको ९ करोड १ लाख ६२ हजार रुपैयाँको सेयर कराोबार भएको छ । दोस्रो स्थानमा उपकार लघुवित्तको ५ करोड ६३ लाख, सिभिल बैंकको ५ करोड ३७ लाख, बैंक अफ काठमाण्डूको ४ करोड ६९ लाख र सेञ्चुरी बैंकको २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार  १७ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।