वाईफाई नेपालले सुरु गर्‍यो सेवा, ३३३ रुपैयाँमा ३० एमबीपीएसको इन्टरनेट


नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ । विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ ।

हाललाई काठमाडौं उपत्यकामा उपलब्ध कम्पनीको सेवा क्रमशः चरणवद्ध रुपमा देशभर विस्तार गर्ने योजना रहेको छ ।

वार्षिक प्याकेज लिने ग्राहकले ४ हजार रुपैयाँमा ३० एमबीपीएस र ५ हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । जसमा ३० एमबीपीएसको मासिक शुल्क ३३३ रुपैयाँ र ५० एमबीपीएसको ४१७ रुपैयाँ हुन आउँछ ।

त्यस्तै ३० एमबीपीएसको तीन महिने प्याकेज १ हजार १०० रुपैयाँमा र छ महिने प्याकेज २ हजार १०० रुपैयाँमा पाउने कम्पनीले जनाएको छ । त्यस्तै ५० एमबीपीएसको तीन महिने प्याकेजका लागि १ हजार ५०० रुपैयाँ र छ महिने प्याकेजका लागि ३ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

३० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको मासिक शुल्क भ्याट बाहेक ४०० रुपैयाँ र ५० एमबीपीएस स्पिडको इन्टरनेट प्याकेजको मूल्य भ्याट बाहेक मासिक ५५० रुपैयाँमा उपलब्ध हुनेछ ।

यी दुवै प्याकेज नेपालमा उपलब्ध सेवामध्ये मध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ । “इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले आपसमा शेयरिङ गरेर प्रयोग गर्नुपर्ने बाध्यता छ,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंहले भने, “यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।” आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जोसुकै उपभोक्ताले पनि सजिलै जडान गर्नसक्ने मूल्यमा उपलब्ध हुने भएकाले इन्टरनेटको पहुँच सबैमा पुग्ने सिंहको विश्वास छ ।

कम्पनीका अनुसार दुवै प्याकेजका लागि अनलाइन बुकिङ खुला भइसकेको छ । ग्राहकले वाईफाईनेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन् ।

कम्पनीका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिना, तीन महिना, ६ महिना वा एक वर्षे प्याकेजको शुल्कका अतिरिक्त राउटरका लागि १ हजार ५०० रुपैयाँ तिर्नुपर्ने छ । जडान तथा इन्स्टलेसनका लागि थप शुल्क लाग्ने छैन ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरु घोषणा गर्ने तयारी गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।