
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त गरे ।
भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको मन्त्री अथकले बताए । रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारिक भ्रमण गरेका मन्त्री अथक र भासिलिभिच बीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषयमा छलफल भएको थियो । छलफल पश्चात “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुई पक्षिय सहमति समेत भएको उनले जनाएका हुन् ।
रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरुसँग समेत भेटघाट गरेका थिए । नेपालमा लगानीको वातावरण बन्दै गईरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री अथकले बताए ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया