
प्रभु क्यापिटलले माण्डु हाइड्रोपावर लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने भएको छ । दुई कम्पनीबीच क्यापिटलले सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।
माण्डु हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्दा प्रिमियम मूल्यमा सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो कम्पनीको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्ध गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।
माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन सुरु गरिसकेको छ ।
सम्झौतामा माण्डु हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष महेश्वर प्रकाश श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
यसैगरी प्रभु क्यापिटल लिमिटेडले माइखोला हाइड्रोपावर लिमिटेडको सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकमा गर्ने भएको छ ।
माइखोलाले इलाम जिल्लाको इलाम नगरपालिका स्थित माई खोलामा सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ३ मेगावाट रहेको छ । आयोजनाले २०७७ असार ३१ गतेबाट जलविद्युत उत्पादन शुरु गरिसकेको छ ।
कम्पनीले आफ्नो सेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्नको लागि एक कार्यक्रमको आयोजना गरी प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ती गर्ने सम्झौता गरेको हो ।
सम्झौतामा माइ खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत रितेश रजकले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया