नेप्से ३७ अंकले बढ्यो, टेलिकमको सेयरमा झुम्मिए लगानीकर्ता

0
Shares

सेयर बजार साताको तेस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले उकालो लागेको छ । सुरुवाति चार किनेटमा बढेको बजार २० मिनेटमा ओरालो लागेर ३५ मिनेटपछि पुनः सुधारिएको थियो ।

निरन्तरकाे गिरावटका कारण सबैजसाे सूचीकृत कम्पनीकाे सेयरमूल्य एक वर्ष यताकै न्यून भाउमा झरेपछि बजारमा नयाँ तथा पुराना लगानीकर्ताले लगानी थपेका छन् ।

कारोबारमा आएका सबै उपसमुहगत सूचक बढेपछि बजार सूचक १.९९ प्रतिशत अर्थात ३७.४९ अंकले बढेर १९२२.३० अंकमा पुगेको हो । ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स ८.१८ अंकले बढेर ३७४.३७ बिन्दुमा पुगेको छ ।

मंगलबार २३१ कम्पनीका ३७ लाख १२ हजार ७४६ कित्ता सेयर १ अर्ब २३ करोड ८५ लाख १८ हजार २०१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
सबै उपसमुहगत सूचकमा हरियाली भएको बजारमा विकास बैंक सूचक सर्वाधिक ३.८९ ले बढ्दा फाइनान्स ३.२९ र म्युचुअल फण्ड ३.०९ प्रतिशतले बढेको छ । जलविद्युत, ब्यापार, होटल, लघुवित्त, जीवन बीमा र लगानी सूचक पनि २ प्रतिशतभन्दा अधिक बढेका छन् ।

मंगलबार नेपाल टेलिकमको सर्वाधिक ११ करोड ५९ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीको सेयरमूल्य २७ रुपैयाँ बढेर ८८० रुपैयाँ पुगेको छ । नबिल बै.कको ४ करोड ३१ लाख, अरुण भ्याली हाइड्रोपावर ३.४३ करोड, नेपाल लाइफ ३ करोड २४ लाख र एनआईसी एशिया बैंकको ३ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

एनसीसी बैंक, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्टस्, एशियन लाइफ र नेपाल बैंक कारोबार रकमका आधारमा शीर्ष दश कम्पनीभित्र समेटिएका छन् । दशौं ठूलो कारोबार भएको नेपाल बैंकको २ करोड ५५ लाखको सेयर खरीद बिक्री भएको छ ।

आजको बजारमा सिवाई नेपाल लघुवित्त र आधिँखोला लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयरमूल्य बढेर क्रमशः प्रतिकित्ता ५५०.३० रुपैयाँ र ७९४ रुपैयाँ पुगेको छ । रिभर फल्स पावरको सेयरमूल्य ८.८८ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल-१ को इकाईमूल्य ८.०८ प्रतिशतले बढेको छ ।

राष्ट्रिय बीमा कम्पनी संस्थापक, हिमाल दोलखा हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, इन्फिनीटिी लघुवित्तको ७ प्रतिशतभन्दा धेरैले बढेको बजारमा सबैको लघुवित्त र माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयरमूल्य पनि करिब ७ प्रतिशतले बढेको छ ।

उता नबिल ब्यालेस्ड फण्ड २ को इकाईमूल्य सबैभन्दा धेरै २.९३ प्रतिशत घटेर ९.६१ रुपैयाँमा झर्दा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, लक्ष्मी इन्वीटी फण्ड र एनएमबि ५० को इकाईमूल्य २ प्रतिशतभन्दा बढीले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।