नेपाल स्टार्टअप फेस्ट शनिबार आयोजना हुँदै

0
Shares

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ।

परिसंघको युवा उद्यमी मञ्चले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्दश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो।

असार ११ गते काठमाडौंको सोल्टी होटलमा हुने स्टार्टअप फेस्टमा राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदुतावासको सहयोग रहेको छ।

स्टार्टअप फेस्टमा छनोट भएकामध्ये १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि दिने आयोजकले बताएको छ। यसअघि स्टार्टअपहरुलाई लगानीका लागि आवेदन पेश गर्न जेठ २७ गतेसम्मको समय अवधि दिएकोमा देशभरबाट ३ सय बढी परियोजना प्रश्ताव आएको थियो।

जसमध्ये १० वटालाई प्रस्तुति गर्ने अवसरका दिनुका साथै पुँजी तथा प्रविधिक सहयोग गर्ने तथा लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानीको अवसर दिने आयोजक नेपाल उद्योग परिसंघले बताएको छ।

स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरुलाई व्यवसायमा ल्याउने विश्वासका साथ आयोजना गर्न लागिएको मेलामार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता गरिने पनि आयोजक परिसंघले बताएको छ।

कार्यक्रममा स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअप विषयमा प्रस्तुति हुनुका साथै प्यानल डिस्कसन, रोबोटिक फुटबल, लाइभ म्युजिक कन्सर्ट पनि हुनेछ। यसका साथै, ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।