स्वदेशी उत्पादनको बजारीकरणका लागि आधिकारिक वेबसाइट सुरु

0
Shares

नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी उत्पादनको बजारीकरणका लागि आधिकारिक वेबसाइट सुरु गरेको छ । महासंघले नेपाली उत्पादनको उपभोग बढाउन तथा पहुँच विस्तारका लागि यस्तो सेवा सुरु गरेको हो ।

अर्थतन्त्रको मेरुदण्ड मानिने १७ हजारको संख्यामा रहेका साना तथा घरेलु उद्योगले उत्पादन गरेको सामाग्रीलाई छिटो, छरितो तथा सहज रुपमा बजारिकरण गर्न एमएसएमइनेपाल डट कम वेबसाईटको सुरुवात गरिएको महसंघले जनाएको छ । यो वेवसाइट उद्योग तथा आपूर्ति मन्त्रालय र महासंघद्वारा भर्चुअल एक्जिबिसन तथा इ–कमर्स साइटको रुपमा विकास भएको हो ।

बिहीबार वेबसाईटको उद्घाटन गर्दै उद्योग तथा आपूर्ति मन्त्रीदिलन्द्र प्रसाद बडुले आन्तरिक उत्पादनको उपभोग बढाउने र आयात प्रतिस्थापन घटाउन मद्दत गर्ने बताए । संसदमा आगामी आर्थिक वर्षको बजेट तथा नीति तथा कायक्रममा छलफल भइरहेको समयमा यो साइट सञ्चालनमा आउनुले स्वदेशी उत्पादनको बजारिकारणका लागि आवश्यक प्राविधिक तथा आर्थिक समस्याहरुको समाधान गर्न सरकार तयार रहेको बताए ।

नेपाल उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले देश आर्थिक संकट तर्फ लम्किँदै गरेको समयमा स्वदेशी उत्पादनको बजारीकरण गर्न स्थापना गरिएको वेबसाइटले स्वदेश तथा विदेशमा एकै पटक बजार सृजना गरेको बताए । नेपाली उत्पादनको लागत बढि र गुणस्तर कम हुँदा आयातीत सामाग्रीसँग प्रतिस्पर्धा गर्न नसकेको बताउदै गोल्छाले भने,“सरकारले कसरी उत्पादन लागत घटाउन सकिन्छ र सस्तो मूल्यमा नेपाली उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्न सकिन्छ भन्ने विषयमा काम गरे मात्रै देश समृद्धिको बाटोमा तर्फ जान्छ ।”

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले देशले व्यापार घाटा भोग्नु परेको अवस्थामा यो वेबसाइटको माध्यमबाट निर्यातलाई बढाउन सकिने बताए । यो वेबसाइटबाट भुक्तानी प्रणालीमा सरकारले सहयोग गर्नुपर्ने मल्लले औल्याएका छन् । उनले साना तथा घरेलु उद्योगलाई बिना धितो कर्जा दिने व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

कार्यक्रममा वेबसाइटको विकासले गुणस्तरीय सामाग्रीले पनि उपयुक्त बजार नपाउने समस्यालाई सम्बोधन गर्ने महासंघले जनाएको छ । साथै साइटले उपयुक्त बजार अभावका कारण संकुचनमा परेका उद्योगहरुको उत्पादन बजारीकरणमा सघाउने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद श्रेष्ठले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।