मूल्य बृद्धिको विरोधमा जारी प्रदर्शनमा छ व्यक्तिको मृत्यु

0
Shares

इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरु भएको हिंसात्मक झडपमा परी छ व्यक्तिको मृत्यु भएको छ । प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएका छन् ।

प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेको इक्वेडरका गृह मन्त्री मारिया पउला रोमोले मंगलबार बताएका हुन ।

गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले इन्धनको लागतलाई कम गर्दै सरकारी अनुदान अन्त्य गर्ने घोषणा गरेका थिए । जसको कारण १२३ प्रतिशतसम्म इन्धनको मूल्य वृद्धि हुने भएको थियो ।

यो उपाय अन्तराष्ट्रिय मुद्रा कोषमा सहमति भएका सुधारमध्येको एक हो । जसले इक्वेडरलाई ४.२ अर्ब डलर क्रृण लिन मद्दत र्पुयाउँछ । सरकारी मुख्यालयनजिकै रहेको क्विटोको ऐतिहासिक केन्द्रमा आदिवासी समूह, किसान, विद्यार्थी र मजदुर युनियनको प्रतिनिधित्व गर्ने हजारौं व्यक्तिले प्रदर्शन जारी राखेका थिए ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनो आइतबार प्रदर्शन नेताहरुसंग धेरै घण्टासम्म बैठकपछि सरकारले नयाँ अनुदान योजनामा काम गर्ने दुबै पक्ष सहमत भएका थिए । यस विरोध प्रदर्शनको क्रममा पक्राउ परेकामा ५७ जना विदेशी नागरिकहरू रहेका जसमध्ये धेरैलाई २४ घण्टा भित्र रिहा गरिएको मन्त्रीले जानकारी दिएका थियो ।

प्रदर्शनपछि १ हजार ५०७ जना सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गरेका बताइएको छ । ती मध्ये ४ सय ३५ जना प्रहरी अधिकारीहरू समेत रहेका जनाइएको छ ।