राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ भर्ने आज अन्तिम

0
Shares

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जारी गरेको यो चरणको आईपीओ स्थानीय बासिन्दाहरूका लागि मात्र जारी गरिएको सेयर हो ।

यस निष्कासनमा सर्वसाधारणले भने आवेदन दिन पाउने छैनन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरूले मात्र आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट स्थानीय परिचय खुल्ने कागजातका साथ आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ ।

यस्तै ग्लोबल आइएमई बैंकको छिप्रिदह र मुसीकोट शाखा कार्यालय, सिद्धार्थ बैंकको पुथा उत्तरगङ्गा र मुसीकोट शाखा कार्यालय र प्रभु बैंकको मुसीकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर छिटोमा बन्द हुने मिति ७ असारसम्म रहेकोमा तीन दिन समय थपेर असार १० गतेसम्म पुर्याइएको थियो ।

बिहीबारसम्म कम्पनीको आईपीओमा २ हजार ९४१ वटा आवेदन मार्फत ४ करोड ७९ लाख २२ हजार मूल्यका ४ लाख ७९ हजार २२० कित्ता सेयरको माग भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर सिंगल बी प्लस रेटिङ ’ प्रदान गरेको छ । बी प्लस रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७९, शुक्रबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।