ठगीजन्य कार्यबाट बच्न केन्द्रीय अनुसन्धान व्यूरोको अनुरोध

0
Shares

प्रहरीले पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिन समेत अनुरेध गरेको छ ।

पछिल्लो समय नेपालमा अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दा समेत तमसुक, चेक वा दृष्टीबन्धक जग्गा फिर्ता नदिई उठीवास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिठ्ठा, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको व्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

यस्तै विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा सामाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिक रुपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङका पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने धम्कि दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुण्डी मार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरी समेत परेको छ ।

नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्य समेत देखिएको जनाउँदै व्यूरोले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ ।

जाहेरी प्राप्त भएको अवस्थामा प्रहरीद्वारा कसुरदार माथि अनुसन्धान गरी कानुन बमोजिम कडाइका साथ कारबाही भइरहेको छ । यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको व्यूरोले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार  ११ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।